
एजेन्सी । अमेरिका–इरान युद्धसँग सम्बन्धित भूराजनीतिक तनावका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावबीच २७ देशले विश्व बैंकसँग आपतकालीन आर्थिक सहयोग माग गरेका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इरानसँग जोडिएको द्वन्द्व सुरु भएयता ऊर्जा बजारमा आएको अस्थिरता, आपूर्ति शृङ्खलामा देखिएको अवरोध र खाद्य तथा मल ढुवानीमा भएको समस्या विभिन्न देशहरूको अर्थतन्त्रका लागि ठूलो चुनौती बनेको हो । समाचार अनुसार सहयोग माग गर्ने २७ देशले आफ्नो आन्तरिक आर्थिक अवस्था कमजोर बनेको, इन्धनको मूल्य तीव्र रूपमा बढेको, मुद्रास्फीति नियन्त्रण बाहिर जान थालेको र विकास परियोजनाहरू समेत प्रभावित भएको बताएका छन् ।
तर, ती देशहरूको नाम सार्वजनिक गरिएको छैन । माग गरिएको रकमको विवरण पनि खुलाइएको छैन । विश्व बैंकले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । तर, स्रोतहरूका अनुसार युद्ध सुरु भएपछि ऊर्जा आपूर्तिमा आएको अनिश्चितताले विकासशील देशहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।
आपूर्ति प्रणालीमा आएको अवरोधले कृषि उत्पादनका लागि आवश्यक मल ढुवानीमा समेत समस्या उत्पन्न गरेको छ । विशेषगरी अफ्रिकी र मध्यपूर्वका केही देशहरूमा इन्धनको मूल्य बढेसँगै यातायात र उत्पादन लागत उच्च भएको छ । यसले आम नागरिकको जीवनयापनमा प्रत्यक्ष दबाब सिर्जना गरेको छ ।
केन्या र इराकका अधिकारीहरूले पनि विश्व बैंकसँग आपतकालीन सहायता माग गरेको पुष्टि गरेका छन् । केन्यामा इन्धन मूल्य वृद्धि तीव्र भएको छ भने इराकको तेल आम्दानी घटेको छ । विश्लेषकहरूका अनुसार मध्यपूर्वको द्वन्द्वले क्षेत्रीय नभई विश्वव्यापी आर्थिक स्थिरतामै असर पारेको छ । ऊर्जा बजारको अस्थिरताले लगानी, व्यापार र विकास परियोजनामा दीर्घकालीन जोखिम थपेको छ ।

























