ठगी एवं लुटपाटमा संलग्न धकलबहादुर थिङ र उनीसहिको गिरोहले ठगीमा प्रयोग गर्दै आएको सुनजस्तो देखिने पहेँलो धातुको टिल ।विराटनगर । मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल (बिस्कुट) देखाएर ठगी एवं लुटपाट गर्ने गिरोह फेरि सक्रिय भएको पाइएको छ । ठगी एवं लुटपाट गर्ने गिरोहमा संलग्न पुरानै अभियुक्त पुनः पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ६१ वर्षीय धकलबहादुर थिङ रहेका छन् । उनीसहित दुई जनाले मोरङको बेलबारीमा पहेँलो धातुको टिल देखाउँदै एक जना वृद्धा महिलाको सुनको सिक्री लुटेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार मोरङको पथरीशनिश्चरेस्थित छोरीको घरबाट सार्वजनिक बस चढेर आफ्नो घर फर्किंदै गरेकी बेलबारी नगरपालिका–१ की ७८ वर्षीया सावित्रादेवी घिमिरेमाथि गत वैशाख २ गते दिउँसो लुटपाट भएको थियो । पथरीशनिश्चरेबाट बस चढेकी वृद्धा बेलबारी बजारस्थित नयाँ मालपोत कार्यालयनजिक ओर्लिएकी थिइन् ।
सोही समयमा अपरिचित दुई पुरुषले सुन पसल कहाँ छ ? भन्दै उनीसँग कुरा गर्न थालेका थिए । ‘सुन पसल सोध्ने बहानामा ती व्यक्तिहरूले वृद्ध महिलालाई राजमार्गबाट दक्षिणतर्फको एकान्त स्थानमा लगेका थिए । त्यसपछि उनीहरूले ‘यूकेबाट ल्याएको सुन’ भन्दै सुनजस्तै देखिने पहेँलो धातुको टिल देखाएर वृद्धालाई प्रलोभनमा पार्न थालेछन्,’ एसपी कटवालले भने, ‘त्यसपछि वृद्धले गलामा लगाएको १ तोला ६ आनाको सुनको सिक्री लैजान खोजेछन् । तर, नमानेपछि डर त्रास देखाई जबरजस्ती सिक्री लुटेर दुवै जना फरार भएको पाइयो ।’
उनका अनुसार वृद्धाको गलाको सिक्री लुटेपछि आफ्नो साथमा भएको सुनजस्तो देखिने धातुको टिल हातमा थमाएर उनीहरु फरार भएको पाइएको छ । घटनापछि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज अध्ययन गर्नुका साथै शंकास्पद व्यक्तिको हुलिया विभिन्न प्रहरी इकाइमा पठाएको थियो ।
अनुसन्धानकै क्रममा घटनामा संलग्नमध्ये एक जना धकलबहादुर थिङ रहेको खुलेको हो । त्यसपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय अनारमनी झापाको समन्वयमा थिङलाई जेठ ६ गते झापास्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउका क्रममा थिङको साथबाट सुनको सिक्री, नगद रकम र मोबाइल बरामद भएको एसपी कटवालले बताए । उनलाई बेलबारी ल्याएर पीडित वृद्धाबाट सनाखतसमेत गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक बयानमा थिङले यसअघि पनि वृद्धा महिलाहरुलाई नक्कली सुन देखाएर ललाईफकाई गरगहना खोस्ने काममा संलग्न रहेको स्वीकार गरेका छन् । अदालतबाट म्याद थप गरी उनीविरुद्ध चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अर्का व्यक्तिको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यसअघि पनि यस्तै शैलीमा बेलबारीमै ठगीको अर्को घटना भएको थियो । २०८२ चैत ९ गते बेलबारी–१ मा दुई अपरिचित व्यक्तिले बेलबारी–४ की ६२ वर्षीया धनीमाया तामाङलाई सुनको टिल देखाएर ठगी गरेको प्रहरीले जनाएको छ ।
तामाङले कानमा लगाएको एक तोलाका दुईवटा बेरुवा रिङ लिएर उनीहरु फरार भएका थिए । उक्त घटनामा पनि थिङसहितका व्यक्ति संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरी अनुसन्धानबाट थिङ पूर्वी नेपालका विभिन्न जिल्लामा सक्रिय संगठित ठगी गिरोहसँग आबद्ध रहेको खुलेको छ । प्रहरीका अनुसार उनी लामो समयदेखि मोरङ, झापा, सुनसरीलगायतका जिल्लामा हटिया, अस्पताल, मेला, पर्व तथा भिडभाड हुने स्थानमा पुगेर तथा सार्वजनिक सवारीसाधनमा चढेर विशेषगरी वृद्धवृद्धा र सोझा सर्वसाधारणलाई नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न रहेका थिए ।
यसअघि २०८१ मंसिर दोस्रो साता पनि मोरङ प्रहरीले थिङसहित ६ जनाको समूहलाई यस्तै प्रकृतिको ठगी घटनामा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दुई जना भारतीय नागरिकसमेत रहेका थिए । कारबाहीपछि छुटेका थिङ पुनः उही आपराधिक गतिविधिमा संलग्न भएको पाइएको एसपी कटवालले बताए ।
त्यतिबेला प्रहरीले सुनजस्तो देखिने पहेँलो धातुबाट बनाइएका तिलहरी, हार, मंगलसूत्र, टिल, चन्द्रमा, सिक्री, औंठी, झुम्का, लकेट, रिङ, ब्रासलेट, कालोपोतेलगायतका सामग्री बरामद गरेको थियो । प्रहरीका अनुसार उक्त गिरोहले सार्वजनिक सवारीसाधन चढ्ने, बजार क्षेत्र घुम्ने तथा एक्लै हिँडिरहेका वृद्ध व्यक्तिलाई लक्ष्य बनाएर ठगी गर्ने गरेको पाइएको थियो ।
‘सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर सर्वसाधारणलाई ठगी एवं लुटपाट गर्ने गिरोह फेरि सक्रिय भएको पाइएको छ । गिरोहलाई नियन्त्रणमा लिन र उनीहरुको सञ्जाल भत्काउन प्रहरी सक्रिय छ । पहिचान भइसकेकालाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरामा ल्याइएको छ,’ एसपी कटवालले भने । उनले अपरिचित व्यक्तिले देखाउने प्रलोभनमा नपर्न र कोही कसैले कुनै शंकास्पद गतिविधि गरेमा तत्काल प्रहरीलाई खबर गर्न पनि सबैलाई आग्रह गरेका छन् ।
यो पनि पढ्नुहोस्

























