
विराटनगर । विराटनगरमा सुरु भएको ‘छैटौँ मिल्स गोल्डकप फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा उदयपुरको ब्रदरहुड फुटबल क्लब पुगेको छ ।
मिल्स गोल्डकप फुटबल ट्रस्टले विराटनगर जुट मिलको खेल मैदानमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा उदयपुरले झापाको कनकाई स्पोर्टिङ क्लबलाई सडन डेथमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेपछि खेलेको निर्णय टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबर भएको सडन डेथका आधारमा उदयपुर ६–५ गोल अन्तरले विजयी भयो ।
टाइब्रेकरमा उदयपुरका निवास फुयाँल, सविन घिमिरे, सञ्जय धिमाल, निश्चल मुक्ताङ, विदेशी खेलाडी फोफोना र कवीन्द्र धिमालले गोल गर्दै टोलीलाई विजयी बनाए ।
झापाका बाबुराम थारु, आशिष चापागाईं, आदित्य बानियाँ, सञ्जय लिम्बू र रोहन कार्कीले गोल गरे भने निगम घिसिङको प्रहार पोस्टबाट बाहिरिएपछि प्रतियोगिताबाट बाहिरिनु पर्यो । खेलको १४ औँ मिनेटमा हेमन लिम्बूको गोलबाट झापाले सुरुवाती अग्रता लिएको थियो । ६४ औँ मिनेटमा उदयपुरका सञ्जय धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
खेलको प्लेयर अफ द म्याच उदयपुरका निश्चल मुक्ताङले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे ।
कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदको माध्यमबाट विराटनगरको ऐतिहासिक पहिचान जोगाउन मिल्स गोल्डकपले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष विष्णु डंगोलका अनुसार प्रतियोगितामा ८ टोलीको सहभागिता छ । उनका अनुसार प्रतियोगिताको विजेताले २ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्ने छन्। विधागततर्फ उत्कृष्ट खेलाडीलाई ५ हजार १ सय र अन्य विधाका विजेतालाई ३ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताअन्तर्गत आइतबार लेटाङ फुटबल क्लब र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।

























