
चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि निर्माणमा प्रयोग हुने कच्चा पदार्थ उत्पादन सुरु गरेको छ । नेपाली जडीबुटी प्रशोधन गरेर उत्पादन गरिएको उक्त कच्चा पदार्थ भारत निर्यातसमेत हुन थालेको उद्योगले जनाएको छ ।
उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीका अनुसार अत्याधुनिक प्रविधि र उपकरणको प्रयोगमार्फत क्यान्सर उपचारमा उपयोगी कच्चा पदार्थ उत्पादन भइरहेको छ । हाल उद्योगले दुई प्रकारका कच्चा पदार्थ उत्पादन गरिसकेको छ भने आगामी दिनमा १० देखि १२ प्रकारसम्म उत्पादन गर्ने लक्ष्य राखिएको छ । उनले जानकारी दिएअनुसार हेटौँडा बसामाडीस्थित इभान्स लाइफ साइन्स उद्योगबाट लौठसल्लो प्रशोधन गरी सहायक कच्चा पदार्थ तयार पारिन्छ र त्यसलाई चितवनस्थित उद्योगमा पुनः प्रशोधन गरी अन्तिम उत्पादन बनाइन्छ। उत्पादन गरिएको कच्चा पदार्थको मूल्य प्रतिकिलो आठ लाखदेखि २५ लाख रुपैयाँसम्म पर्ने गरेको छ ।
उद्योगले भविष्यमा पाकिस्तान, बङ्गलादेशलगायत अन्य एसियाली मुलुकमा समेत निर्यात विस्तार गर्ने योजना बनाएको जनाएको छ । अध्यक्ष क्षेत्रीका अनुसार नेपालका ४० देखि ४५ जिल्लामा लौठसल्लो पाइने भएकाले यसको व्यावसायिक सम्भावना उच्च रहेको छ । वार्षिक करिब एक हजार पाँच सय टन लौठसल्लो प्रशोधन गरेर दुईदेखि तीन हजार किलोसम्म क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन गर्न सकिने अनुमान गरिएको छ । हाल उद्योगमा मासिक ७० देखि ८० किलोसम्म कच्चा पदार्थ उत्पादन गर्ने क्षमता रहेको बताइएको छ । उद्योग सञ्चालनसँगै नेपालमा जडीबुटीजन्य औषधि उद्योगको विकास, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

























