आर्थिक संकटविरुद्ध विराटनगर र बुटवलका उद्योगीहरू एकै ठाउँमा, सहकार्यको घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १४, बिहीबार १४:२२
आर्थिक संकटविरुद्ध विराटनगर र बुटवलका उद्योगीहरू एकै ठाउँमा, सहकार्यको घोषणा

विराटनगर । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन र व्यावसायिक हकहितका लागि विराटनगर र बुटवलका उद्योगी–व्यवसायीहरूले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

उद्योग संगठन मोरङको सचिवालयमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा उद्योग संगठन मोरङ र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका प्रतिनिधिहरूबीच निजी क्षेत्रका साझा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल भएको हो ।

Advertisement

छलफलका क्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले वर्तमान समयमा उद्योग–व्यवसाय क्षेत्र बहु आयामिक चुनौतीबाट गुज्रिरहेको बताए । उनले भने, ‘मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका अग्रणी छ । तर, लगानीमैत्री वातावरण र औद्योगिक नीतिमा सुधार नहुँदासम्म उद्योगहरूको संरक्षण कठिन छ । यसका लागि देशभरका व्यावसायिक संस्थाहरूबीच एकताबद्ध पहल र सहकार्य अनिवार्य छ ।’
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले औद्योगिक इतिहास बोकेको विराटनगरका व्यवसायीहरूबाट धेरै कुरा सिक्न सकिने धारणा राखे । आर्थिक संकट, बजारको संकुचन र उपभोक्ताको घट्दो क्रय शक्तिका कारण व्यावसायिक क्षेत्र गम्भीर दबाबमा रहेको उल्लेख गर्दै उनले अनुभव आदानप्रदान र सहकार्यले मात्र वर्तमान संकटको सामना गर्न सकिने बताए ।

कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले औद्योगिक विकास र लगानी प्रवर्द्धनका लागि संस्थाले गर्दै आएको पैरवीबारे जानकारी गराए । साझा धारणा निर्माण गरेर अघि बढ्दा राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन मद्दत पुग्ने उनको तर्क थियो ।

त्यसैगरी, संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले प्रदेशगत रूपमा रहेका संघ–संगठनहरूबीच नियमित संवाद भएमा निजी क्षेत्रका समस्यालाई सरकार र सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउन सहज हुने बताए ।

अन्तरक्रियामा दुवै संस्थाका पदाधिकारीहरूले आगामी दिनमा उद्योग, व्यापार, पर्यटन र लगानी प्रवर्द्धनका क्षेत्रमा संस्थागत सम्बन्धलाई थप मजबुत बनाउने र साझा मुद्दाहरूमा मिलेर अघि बढ्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.