
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खेल पूर्वाधार विकास, खेलाडी प्रोत्साहन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको उपस्थितिलाई सुदृढ बनाउन उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन् । सरकारले यसपटक खेलाडीको सामाजिक सुरक्षालाई समेत प्राथमिकतामा राखेको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई अवकाशपछि पनि सम्मानजनक जीवनयापन गर्न सक्ने वातावरण बनाउने उद्देश्यसहित आजीवन स्वास्थ्य उपचार सुविधा उपलब्ध गराइने घोषणा गरिएको छ । सरकारको यो घोषणालाई खेलाडीको दीर्घकालीन सुरक्षा र योगदानको सम्मानका रूपमा हेरिएको छ ।
वर्षौंदेखि राष्ट्रका लागि अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दै आएका खेलाडीले अवकाशपछि उपचार र जीविकोपार्जनमा समस्या झेल्दै आएको अवस्थामा सरकारले पहिलोपटक यस्तो व्यवस्था अघि सारेको हो ।
बजेटमार्फत खेल क्षेत्रलाई व्यावसायिक, प्रतिस्पर्धी र परिणाममुखी बनाउने सरकारको योजना पनि सार्वजनिक गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक तयारी, प्रशिक्षण र खेल संरचना निर्माणमा समेत बजेट केन्द्रित गरिएको छ छ ।

























