हर्क साम्पाङ र बालेन शाह ।विराटनगर । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटले कोशी प्रदेशको केही क्षेत्रलाई समेटेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट प्रस्तुत गर्दा कोशी प्रदेशको पूर्वाधार, पर्यटन र उर्जा लगायत क्षेत्रलाई समेटेको हो ।
यसअघि प्रधानमन्त्री र मन्त्रीको क्षेत्रमा बजेट लैजाने परम्परा थियो । यो पटक भने प्रधानमन्त्री बालेन्द्र शाहको क्षेत्रमा एउटा मात्रै योजना बजेटमा समेटिएको छ । सहरी पूर्वाधारतर्फ सरकारले दमक, धरान र इटहरीमा खानेपानी तथा ढल निकास र प्रशोधन आयोजना सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा पर्ने दमक बजारमा पानी र ढल प्रशोधनको आयोजनाका लागि बजेटमा परेको हो । श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङको क्षेत्र धरानमा पनि खानेपानी र ढल निर्माणको योजना बजेटमा समेटिएको छ ।
पूर्व–पश्चिम राजमार्गको विस्तारका लागि कुल ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमा कोशी प्रदेशको मुख्य खण्ड काकडभिट्टा–लौकहीसडक स्तरउन्तीको कार्यलाई एक वर्षभित्र पुरा गर्नेछ । हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गको बजेटमा पनि कोशी प्रदेशलाई समेटेको छ ।
उत्तर–दक्षिण जोड्ने कोशी करिडोरको उत्तरी खण्डको १५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना बजेटमा राखिएको छ । ऊर्जामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकारले संखुवासभामा निर्माणाधीन र प्रस्तावित जलविद्युत आयोजनाहरूलाई प्राथमिकतामा राखेको छ ।
१ हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन टुङ्ग्याएर ठेक्का प्रक्रिया सुरु गरिने बजेटमा उल्लेख छ । ९ सय मेगावाटको अरुण तेस्रो र ६ सय ६९ मेगावाटको तल्लो अरुण आयोजनाको निर्माण कार्यलाई थप सहजीकरण गरी समयमा नै सम्पन्न गर्न सरकारले सहयोग गर्नेछ ।
सरकारले झापाको मेचीनगरमा राष्ट्रिय आवास कम्पनीमार्फत १०० वटा आवास निर्माण गरी नागरिकलाई बिक्री गर्ने लक्ष्य बजेटमा राखेको छ । घर निर्माण गरेर बिक्री गर्ने योजना यो पहिलो हो ।
कृषि क्षेत्रको विकासका लागि सुनसरी– मोरङ सिँचाइ आयोजना मर्मत सम्भार गरी सिँचाइ सुविधालाई व्यवस्थित बनाइनेछ । खेलकुदतर्फ सरकारले विराटनगरमा २ हजार दर्शक क्षमताको मल्टीप्रपोज रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । गिरिजाप्रसाद कोइराला स्टेडियमको लगानी मोडेल तयार गरी निर्माण प्रक्रिया अघि बढाइनेछ ।
धार्मिक पर्यटन प्रवर्धनका लागि कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि हलेसी–चतरा–पाथिभरा प्रादेशिक पर्यटकीय करिडोर निर्माण गर्ने योजना अघि सारिएको छ । गुराँसको राजधानी मानिने तिनजुरेदेखि पाथिभरासम्मको ट्रेकिङ रुट निर्माण कार्यलाई सरकारले बजेटमा समेटेको छ ।

























