
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आर्थिक वर्ष २०८३–८४ को बजेटले सुशासन, आर्थिक पुनरुत्थान र लगानीमैत्री वातावरण निर्माणलाई केन्द्रमा राखेर निजी क्षेत्रको मनोबल उकास्ने प्रतिक्रिया दिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेट निजी क्षेत्र, नवउद्यम र औद्योगिक विकासका दृष्टिले सकारात्मक रहेको महासंघको प्रतिक्रिया छ । महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतका अनुसार बजेटमा उद्योग दर्तादेखि कम्पनी खारेजीसम्मका कानुनी प्रक्रियालाई सरल बनाउने, कर प्रणालीमा व्यापक पुनरावलोकन गर्ने र करको भार घटाउने प्रयास सराहनीय छन् ।
करिब दुई दशकपछि कर संरचनामा गरिएको पुनरावलोकनले उद्यमी, साना व्यवसायी तथा मध्यम वर्गलाई राहत दिने अपेक्षा गरिएको उनले बताए । त्यसैगरी स्टार्टअप र नवप्रवर्तनका लागि कुल पुँजीगत खर्चको १ प्रतिशत विनियोजन, सहुलियतपूर्ण कर्जा, बजार पहुँच विस्तार, तथा सूचना प्रविधि क्षेत्रमा कर सहुलियतजस्ता व्यवस्थाले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने विश्वास महासंघले व्यक्त गरेको छ ।
‘स्वदेशी उत्पादन, साना तथा मझौला उद्योगको संरक्षण र अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्ने नीति सकारात्मक छ,’ राउतले भने । अध्यक्ष राउतले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सार्वजनिक–निजी साझेदारीमार्फत विकास अघि बढाउने अवधारणाले दीर्घकालीन आर्थिक स्थायित्वमा योगदान पुर्याउने निष्कर्ष सुनाए । समग्रमा बजेटले निजी क्षेत्रलाई करदाताका रूपमा मात्र नभएर आर्थिक समृद्धिको साझेदारका रूपमा स्वीकार गरेको उनले बताए ।

























