रातभरि जाग्राम बस्ने प्रहरीलाई किन देख्दैन सरकार ?

मुलुकी खबर
धनबहादुर चलाउने
clock२०८३ जेष्ठ १६, शनिबार १४:०९
रातभरि जाग्राम बस्ने प्रहरीलाई किन देख्दैन सरकार ?

नर्सहरूको नाइट ड्युटी हुँदा भत्ता पाक्छ, तर प्रहरी रातभरि सडक, चोक, अस्पताल, भीड भाड र जोखिमपूर्ण क्षेत्रमा खटिँदा चाहिँ सरकारलाई घाम लाग्छ क्या हो ? यो प्रश्न केवल तलब वा भत्ताको मात्र होइन, यो राज्यले आफ्ना सुरक्षाकर्मीलाई कति सम्मान गर्छ र उनीहरूको योगदानको कसरी मूल्यांकन गर्छ भन्ने विषय हो।

जब अधिकांश नागरिक आफ्नो घरमा निर्धक्क निदाइरहेका हुन्छन् । त्यही समयमा प्रहरी भने अपराध नियन्त्रण, दुर्घटना व्यवस्थापन, आपत्कालीन उद्धार, झगडा नियन्त्रण र जनताको सुरक्षामा खटिरहेको हुन्छ । रात, पानी, चिसो, भोक, थकान र जोखिम उनीहरूको दैनिक जीवनको हिस्सा बनेको छ । नागरिकको चैनको निद्राका लागि आफ्नो निद्रा आहुति दिने यी पहरेदारहरू सधैँ ओझेलमा पर्दै आएका छन्।

Advertisement

प्रहरीको ड्युटी घडी हेरेर चल्दैन। चाडपर्व होस्, आन्दोलन होस्, विपद् होस् वा मध्यरातको आकस्मिक घटना, समाजमा समस्या पर्दा सबैभन्दा पहिले पुग्ने व्यक्ति प्रायः प्रहरी नै हुन्छ। २४ सैं घण्टा तयारी अवस्थामा रहनुपर्ने यो सेवाको आफ्नै खाले संवेदनशीलता छ। तर विडम्बना, त्यही प्रहरीको रातभरिको मेहनत र समर्पणलाई राज्यले अझै पनि एउटा ‘सामान्य ड्युटी’ जस्तै व्यवहार गरिरहेको देखिन्छ। छिमेकी मुलुकहरूमा समेत रात्रिकालीन सेवामा खटिने सुरक्षाकर्मीका लागि विशेष सुविधा र प्रोत्साहनको व्यवस्था हुन्छ, तर हाम्रोमा भने यस विषयमा नीतिगत तहमा सधैँ मौनता साधिन्छ।

स्वास्थ्यकर्मी, निजामती कर्मचारी वा अन्य क्षेत्रका श्रमिकले अतिरिक्त समय काम गर्दा पाउने सेवा सुविधा र प्रोत्साहन भत्ता प्रहरीले पनि पाउनुपर्छ भन्ने माग कुनै विलासिता होइन, यो श्रमको न्यूनतम न्याय हो । न्यून तलब र सीमित स्रोतसाधनका बिच पनि उच्च मनोबलका साथ काम गर्नुपर्ने बाध्यतामा रहेका प्रहरीलाई राज्यको यस्तो विभेदपूर्ण दृष्टिकोणले मर्माहत बनाउँछ । जो व्यक्ति आफ्नो परिवारभन्दा देश र जनताको सुरक्षालाई अगाडि राखेर रात कटाउँछ, उसले सम्मानसहित सेवा सुविधा पाउनु उसको नैसर्गिक अधिकार हो ।

प्रहरीलाई केवल आदेश दिने वा दमन गर्ने राज्यको एउटा साधन मात्र ठान्नु भूल हुनेछ। उनीहरूलाई भावना भएको मानिसका रूपमा पनि हेर्नुपर्छ। वर्दीभित्र पनि एउटा थाकेको शरीर, जिम्मेवारीले भरिएको मन र परिवारको चिन्ता बोकेको हृदय हुन्छ भन्ने कुरा राज्य सञ्चालकहरूले बिर्सनु हुँदैन। चाडबाडमा सबैका घरमा खुसीयाली छाउँदा सडकमा बसेर आँसु निलिरहेका प्रहरीको मनोसामाजिक अवस्था कस्तो होला भन्नेतर्फ कहिल्यै बहस हुँदैन।

यदि राज्य साँच्चै सुरक्षित, भयमुक्त र विधिको शासन चल्ने समाज चाहन्छ भने, सुरक्षामा अहोरात्र खटिने हातहरूको सम्मान र मनोबल दुवै बलियो बनाउन आवश्यक छ। सेवा र सुरक्षाको कसम खाएको प्रहरीलाई न्यूनतम सुविधाबाट समेत वञ्चित गरेर हामी कसरी व्यावसायिक र निष्पक्ष सुरक्षाको अपेक्षा गर्न सक्छौँ रु त्यसैले सरकारले प्रहरी ऐन र नियमावलीमै परिमार्जन गरेर रात्रिकालीन भत्ता तथा अतिरिक्त जोखिम भत्ताको स्थायी व्यवस्था गर्नपर्छ।

किनकि, रातभरि जाग्राम बस्ने प्रहरीको पसिनामाथि नै देशको सुरक्षा व्यवस्था र धेरै नागरिकको शान्त निद्रा टिकेको हुन्छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.