कविता: रूप र लीला

मुलुकी खबर
विनयी विस्मय
clock२०८३ जेष्ठ १६, शनिबार १६:३२
कविता: रूप र लीला

संसार तालको चन्द्रमा माया भएर छ
खोज्दा तालभित्र हराउँछ
किनाराबाट देखिएर छ
छ र छैन
हो र होइन भएर
जीवन हुँदो रहेछ

जगतका अनादि र अनन्त थोकहरू
परम सत्य नभएछन्
भ्रमसिवाय केही नभएर सबै थोक छ
भ्रम भएर लीला छ या
लीला भएर भ्रम छ
त्यहाँ पनि भ्रम छ

Advertisement

लीला छ
थियो र छ या
निर्माण गरेर छ या
देखेर छ
कारण या अकारण छ

यो मायाको खेलमा
ताल नजिक भएर नभेटिएर चन्द्र छैन
आकाश टाढा भएर भेटिएर चन्द्र छ
छ लाग्छ, देखिएर पनि
छ लाग्छ, भेटिएर पनि
अनुभूतिका छ र छैन हरू त कत्ति कत्ति

इनारभित्र पानी भएर
सिंहलाई सिंह छ लाग्छ
यस्तै धेरै धेरै लागेकै कारण
खरायोहरू बाँचेर छन् आजसम्म
मान्छेहरू बाँचेर छन् आजसम्म
सृष्टि बाँचेर छ यहाँसम्म

कुकुरलाई ऐनाभित्र कुकुर छ लाग्छ,
केटाकेटीलाई रेडियोभित्र मान्छे छ लाग्छ
कहिले आकाश ठुलो लाग्छ
कहिले मन त्योभन्दा ठुलो लाग्छ
कहिले प्रकाश छिटो लाग्छ कहिले मन
कसैलाई खुसी त
कसैलाई सुखी ठुलो लाग्छ
कसैलाई सरस्वती त कसैलाई लक्ष्मी ठुलो लाग्छ

राम कसैलाई भगवान् त
कसैलाई लेखकको पात्र
कसैले मन नपराएको रावण
रामभन्दा मन पर्‍यो लेखक कुमार भट्टराईलाई
पाण्डव ठुला कि कौरव
मलाई चाहिँ यस्तो लाग्यो कि,
कौरव नभएका भए पाण्डवहरू कत्रा हुन्थे होलान् !

उचाइ कति हुन्थ्यो होला
कसैलाई जाली कृष्णे लाग्छ
कृष्ण एउटा पात्र भन्छन् कथाको
कोही कृष्णलाई भगवान् ठान्छन् र पुज्छन् निरन्तर
कसैलाई कृष्ण
कसैलाई क्राइस्ट
कसैलाई मोहम्मद
कसैलाई बुद्ध
कसैलाई कबीर त
कसैलाई महावीर

कहिलेकाहीँ रुवा
ढुङ्गा लाग्छ
कहिलेकाहीँ ढुंगा
रुवा लाग्छ
अन्य अनगिन्ती लाग्दालाग्दै
थाहै नपाई

बाटो लाग्नु अर्को लीला
लाग्नु सबैभन्दा ठुलो लीला
तर अन्त्यमा एउटा कुरा भन्नै मन लाग्यो,
यति बेला सबैलाई सबैभन्दा ठुलो कोरोना लागिरहेछ
आँखामा परेको भुसुनो हात्ती लाग्छ लागेको बेला
अहँ, आकारले ठुलो–सानो छैन जिन्दगी
बस  !

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.