
काठमाडौं । नेकपा (एमाले)ले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राख्दै विस्तृत कार्ययोजना अघि सारेको छ । पार्टीले संगठनलाई चुनावमुखी बनाउँदै सबै तहका संरचनालाई सक्रिय परिचालन गर्ने निर्णय गरेको हो ।
जेठ चार गतेदेखि चार दिनसम्म बसेको एमाले सचिवालय बैठकले विशेष रूपमा ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्ने निष्कर्ष निकालेको छ । पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनअनुसार अब केन्द्रीय तहका नेताहरूलाई सिधै स्थानीय तहमा खटाएर संगठन विस्तार र मतदाता केन्द्रित गतिविधि अघि बढाइनेछ । यसअघि महाधिवेशनपछि गरिएको कार्यविभाजनमा केन्द्रीय सदस्यहरूलाई भौगोलिक रूपमा विभिन्न क्षेत्रमा परिचालन गरिएको थियो । तर, अहिले त्यसलाई पुनः परिमार्जन गर्दै नयाँ ढंगको चुनावी कार्ययोजना लागू गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार पार्टीका केन्द्रीय पदाधिकारी बाहेक अन्य अधिकांश केन्द्रीय सदस्यलाई पालिका तहसम्म केन्द्रित जिम्मेवारी दिइएको छ । उनीहरूलाई प्रदेश र जिल्ला कमिटीसँग समन्वय गर्दै जनसंगठन तथा पार्टी संरचनाको सुदृढीकरण गर्ने दायित्व तोकिएको छ । पार्टीले सबै प्रतिनिधिलाई स्थानीय तहमा सक्रिय रूपमा खटिन निर्देशन दिएको छ ।
अभियानअन्तर्गत केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी र अग्रपंक्तिका कार्यकर्तालाई समेत आवश्यकताअनुसार प्रतिनिधिका रूपमा विभिन्न स्थानीय तहमा परिचालन गरिनेछ । खटाइएका जिम्मेवारी पूरा गर्न असमर्थ हुने नेताहरूले समयमै प्रदेश इन्चार्जमार्फत जानकारी गराउनुपर्ने र त्यसपछि केन्द्रीय कार्यालयको समन्वयमा वैकल्पिक प्रतिनिधि खटाइने व्यवस्था गरिएको छ ।
सचिवालयले तयार पारेको कार्यविभाजनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टी नेतृत्वको जिम्मेवारी दिइएको छ । उनको नेतृत्वमा सम्पूर्ण चुनावी रणनीति, संगठन परिचालन र राजनीतिक दिशा समन्वय गरिनेछ ।
उपाध्यक्ष रामबहादुर थापालाई सुशासन र सेवा प्रवाहसँग सम्बन्धित विभागहरूको समन्वयको जिम्मेवारी दिइएको छ । त्यस्तै, उपाध्यक्ष विष्णु पौडेललाई पार्टीसँग सम्बन्धित विभागहरूको समग्र संयोजनको जिम्मेवारी तोकिएको छ । पृथ्वीसुब्बा गुरुङलाई सामाजिक विकाससँग सम्बन्धित विभागहरू, गोकर्ण विष्टलाई पूर्वाधार विकाससँग सम्बन्धित काम र रघुजी पन्तलाई मानव संसाधन व्यवस्थापनसँग सम्बन्धित विभागहरूको संयोजन गर्ने जिम्मा दिइएको छ ।
महासचिव शंकर पोखरेललाई संगठनात्मक सम्पूर्ण कामको समन्वय र केन्द्रीय कार्यालय सञ्चालनको प्रमुख जिम्मेवारी दिइएको छ । त्यस्तै, उपमहासचिव लेखराज भट्टलाई प्रवास सम्बन्धी सम्पूर्ण कामको संयोजन गर्ने जिम्मा दिइएको छ । योगेश भट्टराईलाई नीति तथा योजना सम्बन्धी विभागहरूको समन्वय र रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता सम्बन्धी विभागहरूको नेतृत्व गर्ने जिम्मेवारी तोकिएको छ ।
सचिवस्तरका नेताहरूलाई पनि विभिन्न प्रदेश तथा विभागीय जिम्मेवारी बाँडफाँड गरिएको छ । छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेशको इन्चार्ज, खगराज अधिकारीलाई गण्डकी प्रदेशको इन्चार्ज, यामलाल कँडेललाई कर्णाली प्रदेशको इन्चार्ज, शेरधन राईलाई कोशी प्रदेशको इन्चार्ज, राजन भट्टराईलाई राजधानी विशेष प्रदेशको इन्चार्ज र महेश बस्नेतलाई बागमती प्रदेशको इन्चार्ज तोकिएको छ ।
त्यसैगरी, पद्मा अर्याललाई संसदीय मामिला विभागको प्रमुख, भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख र हिक्मतकुमार कार्कीलाई विपद व्यवस्थापन तथा स्वयंसेवा विभागको प्रमुख जिम्मेवारी दिइएको छ । पार्टीले सबै संरचनालाई चुनाव केन्द्रित बनाउँदै संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने रणनीति अघि सारेको छ ।
एमालेले यस कार्यविभाजनमार्फत गाउँ, नगरदेखि वडासम्म पार्टीको उपस्थिति बलियो बनाउने लक्ष्य लिएको छ । पार्टी नेतृत्वका अनुसार स्थानीय तहमा प्रत्यक्ष रूपमा खटाइने नेताहरूले संगठन सुदृढीकरणसँगै जनसम्पर्क विस्तार, मतदाता समन्वय र स्थानीय मुद्दाहरूको पहिचान तथा समाधानमा ध्यान केन्द्रित गर्नेछन् ।
पार्टीले अभियानलाई नियमित राजनीतिक गतिविधिभन्दा फरक ढंगले अघि बढाउने तयारी गरेको छ । केन्द्रदेखि स्थानीय तहसम्म एकीकृत रूपमा परिचालन गरेर आगामी निर्वाचनमा पार्टीको स्थिति मजबुत बनाउने रणनीति एमालेले अघि सारेको छ ।
यस्तो छ एमालेको कार्ययोजना



















