विद्यार्थीलाई अरनिकोको स्वागत र उत्प्रेरणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १६, शनिबार १९:५३
विद्यार्थीलाई अरनिकोको स्वागत र उत्प्रेरणा

विराटनगर । विज्ञान संकायमा आफ्नो विशिष्ट पहिचान बनाएको विराटनगरस्थित अरनिको कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।  शनिबार र आइतबार गरी दुई चरणमा आयोजित कार्यक्रममार्फत कलेजले नयाँ विद्यार्थीहरूलाई आफ्नो शैक्षिक पद्धति र वातावरणबारे जानकारी गराएको हो ।

विराटनगरमा आयोजित उक्त कार्यक्रममा १ हजार २५३ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । पहिलो दिन ‘बायो ग्रुप’ र दोस्रो दिन ‘कम्प्युटर विज्ञान’का विद्यार्थीहरूका लागि छुट्टाछुट्टै सत्र सञ्चालन गरेको कलेजले जनाएको छ ।

Advertisement

विद्यार्थीहरूमा शैक्षिक ऊर्जा भर्न र लक्ष्य निर्धारणमा सहयोग पुर्‍याउन प्रसिद्ध ‘मोटिभेटर’ डा. तारा गिरीले विशेष प्रशिक्षण दिए । उनले बदलिँदो परिवेशमा अध्ययनलाई कसरी रुचिपूर्ण बनाउने र सफलता प्राप्त गर्ने भन्ने विषयमा विद्यार्थीहरूलाई उत्प्रेरित गरेका थिए ।

सो अवसरमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत र सम्मानित कलेजले गरेको थियो । ३.९१ जीपीए ल्याउने जेभी प्रवीणलाई ‘राजबहादुर तथा कमला कुँवर छात्रवृत्ति’ प्रदान गरियो । प्रवेश परीक्षाको उत्कृष्ट अंक ल्याउने चार जना सुयोग पोखरेल र प्रिन्स मण्डल (प्रथम), कुलानन्द कुमार यादव (द्वितीय) तथा रोहितकुमार साह (तृतीय) लाई पूर्ण छात्रवृत्तिसहित सम्मान गरियो ।

विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै कलेजका प्रिन्सिपल राजेश कार्कीले भयरहित र अनुशासित वातावरणमा अध्ययन गर्न आग्रह गरे । लगनशीलता नै सफलताको कडी रहेको बताउँदै, कार्कीले भने, ‘विद्यार्थीको क्षमता प्रस्फुटनका लागि अरनिको सधैँ प्रतिबद्ध रहेको छ । यहाँको शैक्षिक वातावरणकै कारण विद्यार्थीहरूको एक नम्बर रोजाइमा पर्दै आएको छ । हाम्रो कलेजमा अध्ययन गरेका विद्यार्थीले नै अरू विद्यार्थीहरूलाई यहाँको पढाइ र गुणस्तरबारे भन्ने गरेले यहाँ पढ्न चाहनेको संख्या धेरै हुने गरेको छ ।’

त्यस्तै, कलेजका निर्देशक भरतराज दाहालले कलेजको शैक्षिक विरासतलाई थप उचाइमा पुर्‍याउने संकल्प गरे भने संयोजक विकास खनालले कलेजका नियम र विद्यार्थीको भूमिकाबारे प्रस्ट पारे । कार्यक्रमलाई थप रोचक बनाउन विद्यार्थीहरूले गायन तथा नृत्यसहितका विभिन्न सांगीतिक प्रस्तुतिहरू गर्दै सहपाठीहरूको स्वागत गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.