विकेभीएमद्वारा २० लाख बराबरको छात्रवृत्ति वितरण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २३, शनिबार १४:१४

विराटनगर । विराटनगरको बाल कल्याण विद्या मन्दिर (विकेभीएम) स्कुलले ५६ जना विद्यार्थीलाई २० लाख रुपैयाँ बराबरको छात्रवृत्ति तथा पुरस्कार वितरण गरेको छ ।

शनिबार विद्यालयमा आयोजित वार्षिक पुरस्कार वितरण तथा स्वागत कार्यक्रममा विद्यालयबाट एसईईमा ४ जीपीए हालिस गर्ने र विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुरस्कारसहित छात्रवृत्ति वितरण गरिएको हो । कार्यक्रममा कक्षा नर्सरीदेखि १० सम्मका ३८ जना विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गरिएको छ ।

Advertisement

विद्यालय प्रशासनका अनुसार छात्रवृत्ति हासिल गर्ने विद्यार्थीहरु उल्लेखित कक्षामा पहिलो, दोस्रो र तेस्रो स्थानमा आउन सफल भएका थिए । त्यसैगरी, २०८२ सालको एसईई परिक्षामा विद्यालयबाट ४ जीपीए हासिल गर्ने १८ जना विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विराटनगरस्थित राष्ट्रिय परिक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालयका निर्देशक प्रकाशकुमार खरेलले शैक्षिक हब बन्दै गएको विराटनगरमा विकेभीएमले फरक पहिचान स्थापित गरेको बताए । विद्यार्थीको उज्जवल भविष्य निर्माण गर्नका लागि विद्यालयले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै निर्देशक खरेलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक ज्ञानसँगै व्यहावरिक र अतिरिक्त ज्ञानसमेत हासिल गरेको उल्लेख गरे ।

१८ जनाले ४ जीपीए ल्याएर उत्कृष्ट बनेको विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले शिक्षासँगै गीतसंगीत, खेलकुद, नृत्यजस्ता कुरामासमेत विशेष दखल राखेको उल्लेख गरे । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रविनकुमार दाहालले एसईईमा राम्रो नतिजा ल्याएका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको शुभकामना दिए ।

विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीबाट धेरै कुरा सिकिने बताउँदै दाहालले हाल विद्यालयमा अध्ययनरत र नयाँ विद्यार्थीले आफ्नो अध्ययनलाई विशेष महत्व दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नर्सरीदेखि विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले गीतसंगीत र नृत्य प्रदर्शन गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.