
विराटनगर । विराटनगरको ग्रिनल्याण्ड कलेजले नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना भएका ७५० जना नयाँ विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच स्वागत तथा अभिमुखीकरण गरेको छ ।
होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, विज्ञान, व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण र भविष्यको मार्ग चित्रबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नभई असल व्यक्तिको रूपमा आफूलाई स्थापित गर्न आग्रह गरिन् । उनले भनिन्, ‘कक्षा ११ र १२ को अध्ययन नै विद्यार्थीको उज्ज्वल भविष्यको आधारशिला हो । यो दुई वर्षको मेहनतले तपाईंको आगामी जीवन कस्तो हुने भन्ने कुराको निर्धारण गर्छ ।’
ग्रिनल्याण्ड कलेजले विगतदेखि नै उत्कृष्ट नतिजामार्फत विद्यार्थीको भविष्यलाई उचाइमा पुर्याउन सफल भएको भन्दै उनले कलेजको प्रशंसा समेत गरिन् ।

कलेजका प्रिन्सिपल दिनेश दाहालले उच्च माध्यमिक तह (प्लस टु) को शिक्षालाई जीवनकै सबैभन्दा महत्त्वपूर्ण मोडको रूपमा व्याख्या गरे । ‘जीवनमा आउने अनगिन्ती अवसरहरूको ढोका खोल्नका लागि यो दुई वर्षको अध्ययन निर्णायक हुन्छ,’ प्रिन्सिपल दाहालले भने, ‘कलेजले प्रदान गर्ने उत्कृष्ट शैक्षिक वातावरणको पूर्ण उपयोग गर्दै आफ्नो क्षमता प्रदर्शन गर्न म सबै विद्यार्थीहरूलाई आह्वान गर्दछु ।’ उनले कलेजको गौरवशाली इतिहासलाई निरन्तरता दिन नयाँ विद्यार्थीहरूले थप मेहनत गर्ने विश्वास व्यक्त गरे ।
यस्तै, कक्षा ११ को व्यवस्थापन संकायको प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएकी छात्रा समीक्षा मुडियारीले कलेजको शैक्षिक पद्धति र सुविधाबारे आफ्नो अनुभव सुनाएकी थिइन् ।
अभिमुखीकरण कार्यक्रमको रौनकलाई थप बढाउन विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए । विद्यार्थीहरूद्वारा प्रस्तुत गीत, नृत्य तथा सांगीतिक कलाले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो ।

लामो समयदेखि विराटनगरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ग्रिनल्याण्ड कलेजमा हाल विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन र होटेल व्यवस्थापन विषयहरूमा पठनपाठन हुँदै आएको छ ।

























