
काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहितको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ ।
नयाँ नोट बजारमा प्रवेशसँगै मुलुकको मौद्रिक प्रणालीमा नोट प्रचलनको नयाँ चरण सुरु भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र आधारभूत रंग पुरानै डिजाइनसँग मिल्दोजुल्दो भए पनि यसमा सुरक्षा विशेषता, सिरिज संरचना तथा पहिचान प्रणालीमा महत्वपूर्ण परिमार्जन गरिएको छ ।
जारी गरिएको नोटहरूको संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्म रहेको छ । प्रत्येक अक्षर समूहअन्तर्गत ०००००१ देखि ९९९९९९ सम्म करिब १० लाख थान नोट छापिने व्यवस्था अनुसार नयाँ सिरिजअन्तर्गत करिब ३० लाख थान नोट बजारमा प्रवेश गरेको बैंकले जनाएको छ ।
यसअघि २०७८ पुस ९ गतेदेखि चलनचल्तीमा रहेको २०२० सिरिजको ५०० रुपैयाँ दरका करिब २ लाख ४८ हजार थान नोटलाई क्रमशः प्रतिस्थापन गर्ने प्रक्रिया पनि अघि बढ्ने बताइएको छ । नयाँ नोटमा राष्ट्रिय पहिचान र आधुनिक सुरक्षा प्रविधिलाई प्राथमिकता दिइएको छ ।
अग्रभागको बायाँतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथाको चित्र राखिएको छ । दायाँतर्फ नेपालको राष्ट्रिय फूल लालीगुराँसको पानी छाप समावेश गरिएको छ । तल्लो भागमा २०८२ सिरिज नम्बर उल्लेख गरिएको छ ।
दृष्टिविहीन तथा कम दृष्टि भएका व्यक्तिहरूको सहज पहिचानका लागि पानी छापको बायाँतर्फ दुईवटा काला थोप्ला राखिएको छ । जसलाई स्पर्श गरेर नोटको मूल्य पहिचान गर्न सकिन्छ । सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र राखिएको छ । जसको रंग प्रकाशको कोणअनुसार सुनौलो र हरियोमा परिवर्तन हुने विशेषता छ ।
त्यस्तै, ३.५ मिलिमिटर चौडाइको सुरक्षण धागो प्रयोग गरिएको छ । जसको रंग पनि प्रकाशअनुसार परिवर्तन हुन्छ । पछिल्लो भागमा नेपालको जैविक विविधताको प्रतीकका रूपमा पाटेबाघको चित्र समावेश गरिएको छ । माथिल्लो भागमा ‘नेपाल राष्ट्र बैंक’ र तल्लो भागमा ‘रुपैयाँ पाँच सय’ अंग्रेजी भाषामा लेखिएको छ ।
राष्ट्र बैंकले यो नोटलाई मुद्राको साधन मात्र नभई राष्ट्रिय पहिचान, आधुनिक सुरक्षा प्रविधि र समावेशी वित्तीय पहुँच सुदृढ गर्ने उद्देश्यसहित सार्वजनिक गरिएको आधुनिक डिजाइनको उदाहरणका रूपमा प्रस्तुत गरेको छ ।



















