तस्बिर : एआईविराटनगर । केही वर्षअघिसम्म विद्यालय उमेरका बालबालिकालाई चुरोट, बिँडी, खैनी वा गुट्खाको लतबाट कसरी जोगाउने भन्ने चिन्ता प्रमुख थियो । तर अहिले विराटनगरसहित देशका प्रमुख शैक्षिक केन्द्रहरूमा चुनौतीको स्वरूप फेरिएको छ ।
आधुनिकता, फेसन र प्रविधिको आवरणमा भित्रिएका भेप, ई–सिगरेट, हुक्का र शीशाजस्ता निकोटिनयुक्त सामग्रीले किशोरकिशोरीलाई तीव्र रूपमा आकर्षित गर्न थालेका छन् । विशेषगरी विराटनगरका विद्यालय तथा कलेज आसपास यस्ता सामग्रीको प्रयोग बढ्दै गएको संकेत स्वास्थ्यकर्मी, मनोवैज्ञानिक र विद्यालय प्रशासनले गर्न थालेका छन् ।
किशोरावस्थामाथि धुवाँले धावा बोलिरहँदा निकोटिनले बालस्वास्थ्य हराउँदै गएको पाइन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको ‘यूथ टोबाको सर्भे २०२५’ को प्रारम्भिक प्रतिवेदनले विद्यालय तहका विद्यार्थीबीच सुर्तीजन्य तथा निकोटिनयुक्त पदार्थको प्रयोग अझै गम्भीर अवस्थामा रहेको देखाएको छ ।
सातै प्रदेशका ५० विद्यालयमा कक्षा ७ देखि १० सम्म अध्ययनरत तीन हजारभन्दा बढी विद्यार्थीमाझ गरिएको अध्ययनमा १८.७५ प्रतिशत विद्यार्थीले कुनै न कुनै प्रकारको सुर्तीजन्य वा निकोटिनयुक्त पदार्थ प्रयोग गरेको पाइएको छ । प्रतिवेदनको सबैभन्दा चिन्ताजनक पक्ष भनेको १३ देखि १५ वर्ष उमेर समूहका किशोरकिशोरीमा चुरोट, बिँडी, खैनी र गुट्खाजस्ता परम्परागत सुर्तीजन्य पदार्थभन्दा भेप, ई–सिगरेट र हुक्काको प्रयोग दर उल्लेख्य रूपमा बढी देखिनु हो ।
सर्वेक्षणअनुसार करिब ४१.५ प्रतिशत विद्यार्थीले १० वर्षको उमेर नपुग्दै यस्ता पदार्थको स्वाद चाखिसकेका छन् । यसले निकोटिनको पहुँच बालबालिकासम्म झन् सानो उमेरमै पुग्न थालेको प्रष्ट हुन्छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार पछिल्ला वर्षहरूमा किशोरकिशोरीमा देखिने श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी समस्याको स्वरूप पनि बदलिन थालेको छ । कोशी अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्जिवकुमार यादवका अनुसार पछिल्लो समय विद्यालय उमेरका बालबालिका विभिन्न श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल आउने क्रम बढेको छ । विस्तृत सोधपुछ गर्दा कतिपयले लुकीछिपी भेप प्रयोग गरिरहेको तथ्य खुलेको उनी बताउँछन् ।
उनका अनुसार धेरै अभिभावकले भेपलाई चुरोटभन्दा कम हानिकारक वा सामान्य इलेक्ट्रोनिक उपकरणका रूपमा बुझ्ने गरेका छन् । तर, वास्तविकता त्यस्तो नभएको उनको भनाइ छ । भेपमा पाइने निकोटिनले किशोरावस्थामा रहेको मस्तिष्कको विकास प्रक्रियामा प्रत्यक्ष असर पुर्याउनुका साथै फोक्सोमा दीर्घकालीन क्षतिको जोखिम बढाउने डा. यादवले बताए ।
बाल विशेषज्ञ डा. जगत्जीवन घिमिरेले समेत भेपका कारण हुने फोक्सोसम्बन्धी जटिल समस्या नेपालमा देखिन थालेको बताएका छन् । उनका अनुसार ‘भेप–इन्ड्युस्ड लङ इन्जुरी’ जस्ता समस्या विकसित मुलुकमा मात्र सीमित नरही नेपालमा पनि देखापर्न थालेका छन् । यस्ता समस्याले गम्भीर अवस्थामा एआरडीएसजस्ता ज्यान जोखिममा पार्ने अवस्था निम्त्याउन सक्ने भएकाले यसलाई सामान्य रूपमा लिन नहुने डा. घिमिरे बताउँछन् ।

विराटनगरका मनोवैज्ञानिक तथा परामर्शदाता चन्द्रकुमार रोयका अनुसार किशोरकिशोरीहरूमा भेपको बढ्दो आकर्षणको मुख्य कारण सामाजिक परिवेश र डिजिटल संस्कृति हो । सामाजिक सञ्जालमा देखिने भिडियो, साथीभाइको प्रभाव, समूहमा स्वीकार्यता खोज्ने प्रवृत्ति तथा ‘आधुनिक’ देखिने चाहनाले धेरै किशोरकिशोरीलाई भेपतर्फ आकर्षित गरिरहेको उनको विश्लेषण छ ।
रोयका अनुसार सुरुमा जिज्ञासाका रूपमा प्रयोग गर्न थालिए पनि पछि निकोटिनको निर्भरतामा परिणत हुने जोखिम उच्च हुन्छ । यसले मानसिक तनाव, चिन्ता, चिडचिडापन, पढाइमा ध्यान केन्द्रित गर्न नसक्ने समस्या तथा व्यवहारमा परिवर्तन ल्याउन सक्छ । रोयले अभिभावकलाई आफ्ना छोराछोरीको व्यवहार, साथीको घेरा र दैनिक गतिविधिमा देखिने अस्वाभाविक परिवर्तनप्रति सजग रहन आग्रह गरेका छन् ।
यो समस्या स्वास्थ्य संस्था र परिवारमा मात्र सीमित छैन । विराटनगरका शैक्षिक संस्थाहरु पनि यसको प्रत्यक्ष असर भोगिरहेका छन् । विराटनगर आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलका अनुसार केही वर्षअघि विद्यार्थीको झोलामा चुरोट भेटिनु असामान्य मानिन्थ्यो । तर, अहिले विभिन्न रङ, आकार र स्वादका भेप डिभाइस भेटिन थालेको उनले बताए ।
उनका अनुसार कानुनी रूपमा विद्यालयको १०० मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पाइँदैन । तर, व्यवहारमा यो व्यवस्था प्रभावकारी रूपमा लागू हुन नसक्दा विद्यालय आसपासका पसल तथा अन्य माध्यमबाट विद्यार्थीको पहुँच कायम रहेको छ । उनले स्थानीय प्रशासन, विद्यालय र अभिभावकबीच समन्वय गरी नियमित अनुगमन तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
विराटनगरका स्थानीय व्यवसायीहरू पनि यस विषयमा फरक चुनौतीको सामना गरिरहेका छन् । आदर्श माध्यमिक विद्यालय नजिकै किराना तथा चिया पसल सञ्चालन गर्दै आएका एक व्यापारीका अनुसार विद्यालय उमेरका बालबालिकालाई सुर्तीजन्य सामग्री बिक्री नगर्ने प्रयास गरिए पनि उमेर छुट्याउन कठिन हुने अवस्था रहन्छ । कतिपय विद्यार्थी कलेज तहका जस्तै देखिने भएकाले वास्तविक उमेर पहिचान गर्न गाह्रो हुने उनी बताउँछन् ।
उनका अनुसार साना किराना पसलमा भेप सजिलै उपलब्ध नहुन सक्छ । तर, विद्यार्थीहरूले ठूला पसल, फेन्सी स्टोर वा अनलाइन माध्यमबाट किनेर ल्याउने गरेको जानकारी स्थानीय स्तरमा सुनिने गरेको छ । यसले नियमनको चुनौती परम्परागत पसलभन्दा धेरै फराकिलो भइसकेको देखाउँछ ।
अर्कोतर्फ, बालबालिकाको पहुँच सहज बनाउने केही सामाजिक अभ्यास अझै कायम छन् । कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई चुरोट वा सुर्तीजन्य पदार्थ किनेर ल्याउन पठाउने पुरानो चलन अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । स्वास्थ्यकर्मीहरूका अनुसार यस्ता व्यवहारले बालबालिकामा सुर्तीजन्य पदार्थप्रति जिज्ञासा र सहज स्वीकार्यता बढाउन भूमिका खेल्छ ।
पछिल्लो समय विराटनगरका चिया पसल, कफी सप, होटल र रेस्टुरेन्टमा सुर्तीजन्य वस्तु सेवनसँगै चिया पिउने किशोरकिशोरीहरुको लर्को लागिरहेको हुन्छ । विशेष गरेर शैक्षिक संस्थाकै पोसाकमा कफी सप छिरेर चिया एवं कफीको चुस्कीसँगै धुवाँ उडाइरहेको दृश्य सामान्यजस्तै बन्न थालेका छन् । तर, यसले मानव स्वास्थ्यमा कति ठूलो संकट ल्याइरहेको छ भन्ने महत्वपूर्ण विषय हो ।
सुर्तीजन्य पदार्थको असर व्यक्तिगत स्वास्थ्यसम्म सीमित छैन । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सुर्ती सेवनका कारण हरेक वर्ष करिब ३९ हजार २०० जनाको मृत्यु हुने गरेको छ । यससँग सम्बन्धित रोगको उपचार तथा उत्पादकत्वमा हुने क्षतिका कारण देशले वार्षिक ४५ अर्ब रुपैयाँभन्दा बढी आर्थिक भार व्यहोर्नु परेको अनुमान छ ।
विशेषज्ञहरूका अनुसार अहिलेको चुनौती परम्परागत चुरोटभन्दा फरक छ । निकोटिन अब धुवाँको गन्धसहित खुला रूपमा नभएर रंगीन डिजाइन, आकर्षक प्याकेजिङ, फलफूलका स्वाद र डिजिटल उपकरणको आवरणमा किशोरकिशोरीसम्म पुगिरहेको छ । यही कारण अभिभावकले समयमै थाहा नपाउनुका साथै विद्यालय प्रशासनले पनि निगरानी गर्न कठिन हुने अवस्था सिर्जना भएको छ ।
यस परिस्थितिमा विराटनगरजस्ता शैक्षिक केन्द्रमा विद्यालय तथा कलेज लक्षित सचेतनामूलक अभियान सञ्चालन गर्नु, विद्यालय वरपर सुर्तीजन्य तथा निकोटिनयुक्त सामग्रीको बिक्रीमा कडाइ गर्नु, भेप तथा ई–सिगरेटको विज्ञापन र पहुँच नियन्त्रण गर्नु तथा अभिभावकलाई समेत सहभागी गराएर निगरानी प्रणाली बलियो बनाउन आवश्यक देखिएको सरोकारवाला बताउँछन् । ‘यूथ टोबाको सर्भे २०२५’ ले सार्वजनिक गरेको तथ्यांक अध्ययनको निष्कर्ष मात्र नभएर नयाँ पुस्ताको स्वास्थ्यमाथि बढ्दो जोखिमको संकेत पनि हो ।
यदि अहिले नै प्रभावकारी हस्तक्षेप गरिएन भने विराटनगरका विद्यालयदेखि देशभरका शैक्षिक संस्थासम्म फैलिरहेको भेप र ई–सिगरेटको लतले भविष्यका नागरिकको स्वास्थ्य, शिक्षा र उत्पादक जीवनमाथि गम्भीर असर पार्न सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन् । किशोरकिशोरीका लागि धुवाँ र चिया अहिले दिनचर्या एवं फेसन नै जस्तो बनेको उनीहरुको भनाइ छ ।



















