वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमै रोजगारी 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार १४:४९
 वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमै रोजगारी 

विराटनगर । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको आर्थिक पुनः एकीकरण सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका उद्योग प्रतिष्ठानका सञ्चालक तथा प्रबन्धकहरूको सहभागिता रहेको थियो । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा भएको कार्यक्रममा महासंघले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको आर्थिक पुनः एकीकरणका लागि हालसम्म गरिएका कार्यहरूको प्रतिवेदन प्रस्तुत गरेको थियो ।

Advertisement

महासंघले १० वटा स्थानीय तहमा रोजगारदाता र आप्रवासी सञ्जालका प्रतिनिधिहरूबीच रोजगारीको अवसर र आवश्यक दक्षताका बारेमा छलफल गरेको जानकारी दिएको छ । कार्यक्रममा महासंघले रोजगारीको खोजीमा रहेका व्यक्तिहरू र दक्ष कामदारको अभाव झेलिरहेका उद्योग प्रतिष्ठानहरूको विवरण संकलन गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

स्थानीय तहका ‘रोजगार सूचना केन्द्र’ बाट प्राप्त तथ्यांकका आधारमा वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई रोजगारी उपलब्ध गराउन महासंघ कोशी प्रदेशले सहजीकरण गर्दै आएको छ ।

अन्तरक्रियामा बोल्दै प्रगति टेक्सटाइलका प्रदीप निरालाले दक्षता र काममा लगनशीलता भएका व्यक्तिहरूलाई उद्योग प्रतिष्ठानहरूले सधैँ प्राथमिकता दिने बताए । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सका महेश पोखरेलले सीपयुक्त जनशक्तिलाई रोजगारी दिन आफ्नो प्रतिष्ठान प्रतिबद्ध रहेको उल्लेख गरे ।

सामाजिक विकास मन्त्रालयका उपसचिव गोपाल दाहालले मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरेका विभिन्न परियोजना र भावी योजनाका बारेमा प्रकाश पारे । कार्यक्रममा कोशी प्रदेशका विभिन्न उद्योग प्रतिष्ठानका करिब ५० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.