भारतीय अवरोधले चिया उद्योग संकटमा : कूटनीतिक पहल गर्न कोशी महासंघको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार १९:०५

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले नेपाली चिया निकासीका क्रममा भारतीय पक्षबाट सिर्जना गरिएका अवरोध हटाउन सरकारसँग माग गरेको छ। महासंघले चिया क्षेत्रमा देखिएको वर्तमान संकट समाधानका लागि अविलम्ब उच्चस्तरीय कूटनीतिक पहल थाल्न सरकारसँग माग गरेकाे हाे ।

महासंघका अध्यक्ष राजेन्द्र राउतले भारतीय पक्षले गुणस्तर परीक्षणका नाममा नेपाली चियामाथि लगाएको गैरभन्सार अवरोधका कारण निर्यात ठप्प भएको बताए ।

Advertisement

उनले नेपाली चिया उद्योग, किसान र श्रमिकको हित संरक्षणका लागि महासंघ प्रतिबद्ध रहेको उल्लेख गर्दै सहज निर्यातको वातावरण बनाउन सरकारले ढिलाइ गर्न नहुने बताए ।

‘चिया उद्योगले वैदेशिक मुद्रा आर्जन, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ,’ अध्यक्ष राउतले भनेका छन्,’तर भारतीय अवरोधका कारण उत्पादित चिया गोदाममै थुप्रिएको छ। यसले उद्योगको नगद प्रवाहमा गम्भीर समस्या निम्त्याएको छ ।’

भारतीय अवरोधकै कारण तीन दिनदेखि इलामका चिया उद्योगहरू अनिश्चितकालका लागि बन्द भएका छन् । उद्योग बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा कार्यरत २० हजारभन्दा बढी श्रमिक र उनीहरूमा आश्रित परिवारको जीविकोपार्जन संकटमा परेको छ । श्रमिकसँगै उद्योगीहरूको अर्बौँको लगानी जोखिममा परेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ।

नेपालको करिब १० हजार हेक्टर जग्गामा वार्षिक २ करोड ७४ लाख किलोग्राम चिया उत्पादन हुने गरेको छ । कुल उत्पादनमध्ये ठूलो हिस्सा अर्थात् २ करोड ५६ लाख किलोग्राम चिया वार्षिक रूपमा भारततर्फ निकासी हुँदै आएको छ ।  निकासीको मुख्य बजारमै अवरोध भएपछि चिया क्षेत्र धराशायी हुने अवस्थामा पुगेको छ । यस विषम परिस्थितिमा सरकारले छिमेकी मुलुकसँग ठोस संवाद गरी समस्याको स्थायी समाधान खोज्नुपर्ने माग उद्योगीहरूको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.