वीआइसीले विराटनगरमा थप्यो १०० करोड लगानी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार १३:५२

विराटनगर । आइएनजी ग्रुपले विराटनगरमा सञ्चालन गरेको विराटनगर इन्टरनेशनल कलेजमा १०० करोड लगानी थप गरेको छ । पूर्वी नेपालको शैक्षिक, प्राविधिक र नवप्रवर्तनको क्षेत्रलाई आधुनिक रूपान्तरण गर्ने भन्दै बिआइसीले १०० करोड लगानी थप गरेको हो । यो लगानीबाट आधुनिक सुविधासम्पन्न कलेज भवन निर्माण हुनेछ ।

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै कलेजले १०० करोड रुपैयाँको लगानीमा कलेज भवन निर्माण भइरहेको जनाएको छ । कलेजले नयाँ शैक्षिक कार्यक्रम पनि सुरुवात घोषणा गरेको छ ।

Advertisement

कलेजले आफ्नै जग्गामा निर्माण गरिरहेको भवन उच्च शिक्षामा निजी क्षेत्रबाट गरिएको ठलो लगानी मध्येको एक हो । नयाँ भवनमा आधुनिक सिकाइ केन्द्रहरू, उन्नत प्रविधि प्रयोगशाला, साइबर सुरक्षा ल्याब, र नवप्रवर्तन तथा उद्यमशीलता केन्द्रहरु रहनेछन् ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण हुने पूर्वाधारले विद्यार्थीलाई विश्वस्तरीय शैक्षिक वातावरण र व्यावहारिक अनुभव प्रदान गर्ने आइएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार कलेजले शैक्षिक विस्तारका क्रममा बेलायतको प्रतिष्ठित युनिभर्सिटी अफ वल्भरह्याम्पटन सँगको सहकार्यमा दुई नयाँ कार्यक्रम पनि ल्याएको छ ।
कलेजले साइबर सेक्युरिटी र आएमबीए कोर्ष ल्याएको हो । डिजिटल सुरक्षाको बढ्दो मागलाई सम्बोधन गर्न बिएस्सी साइबर सेक्युरीटी कोर्ष सुरु गरेको उनले बताए । आइएमबीए कार्यक्रम पनि सुरु गरेको उनले बताए ।

वि.सं. २०७० मा सुरु भएको कलेजले एक दशकदेखि गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको छ।

शैक्षिक गतिविधिमा मात्र सीमित नरही कलेजले नेपालको प्रविधि उद्योगलाई सुदृढ बनाउन सफ्टवेयर विकास र डिजिटल उत्पादनमा आधारित कम्पनीहरूको विस्तार गर्ने योजना बनाएको उनले बताए । आइएनजी ग्रुपले हाल २५ वटा कम्पनी सञ्चालन गर्दै आएको छ ।

पूर्वी नेपाललाई विश्वस्तरीय शिक्षा, प्रविधि र उद्यमशीलताको हब बनाउने उदेश्यले ठूलो लगानी थपेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.