
लागु पदार्थ दुरुपयोगलाई केबल बानी भनेर मात्र बुझ्नु गलत हुन्छ यो एक जटिल समस्या हो । जुन शारीरिक, मानसिक र सामाजिक पक्षसँग सम्बन्धित छ । लागु पदार्थ समस्या होइन यो त परिणाम हो । प्रायः जसो व्यक्तिले पहिले नै भावनात्मक असन्तुलन, तनाव व्यवस्थापनको कमी, आत्मविश्वासको कमी, पारिवारिक तथा सामाजिक समस्याहरू अनुभव गरिरहेको हुन्छ । यी कारकहरूले व्यक्ति पहिले नै विघटित हुन्छन् र लागु पदार्थप्रति आकर्षित हुन पुग्छन् ।
आज जुन २६ अर्थात् विश्व लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण दिवसलाई विश्वभर सचेतना दिवसको रूपमा विभिन्न सचेतना मूलक कार्यक्रम गरी मनाइन्छ । यो वर्षको नारा ‘World drug problem: persisting issues, new challenges, innovative responses’ जसको नेपाली अर्थ ‘विश्वमा लागुऔषध समस्या: निरन्तर चुनौतीहरू, नयाँ समस्याहरू र नवीन समाधान’ भन्ने हुन्छ । नेपालमा पनि कोशी प्रदेश प्रहरीले हालै अबको युद्ध दुर्व्यसनविरुद्ध भन्ने नाराको साथमा लागुऔषध मुक्त समाज निर्माण गर्ने उद्देश्यले लागुऔषधविरुद्धको महाअभियान सञ्चालन सक्रिय पूर्वक लागू गरिरहेको छ ।
जसअन्तर्गत लागुऔषधको प्रयोग घटाउने, सचेतना बढाउने, अपराध नियन्त्रण गर्ने र उपचारमार्फत पुनर्स्थापनाको काम स्थानीय सरकार समेतले गरेको विभिन्न छापाहरूको माध्यमबाट थाहा पाउन सकिन्छ ।
अहिलेको ‘जि एण्ड जेट’ पुस्ता र अन्य पुस्ताहरूबाट पनि विकराल बन्दै गएको एक प्रमुख रोगको रूपमा लागु पदार्थको दुरुपयोगलाई लिन सकिन्छ । मैले लागु पदार्थलाई यसर्थमा रोग भने किनकि यसमा एक प्राण घातक रोगमा पाइने सबै गुणहरू भेटिन्छ र विश्व स्वास्थ्य संगठनले पनि यसलाई स्वीकार गर्छ । लागु पदार्थको अवस्था यसरी भयानक हुनु भनेको नेपाल जस्तो देशका लागि शुभ संकेत मानिँदैन । किनभने सक्रिय जनशक्तिमा यो समस्या देखिनु समग्र अर्थतन्त्र, विकास, परनिर्भरता, बेरोजगारी र गरिबीको वृद्धि आदिको सूचक हो । जुन आगामी दिनमा पनि अवस्था अझै भयावह हुन्छ भन्ने संकेत गर्दछ ।
नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकलाई हेर्दा करिब ७९४३ जनालाई लागु पदार्थ सम्बन्धी कसुरमा पक्राउ गरिएको र ती मध्ये ५११० जनालाई मुद्दा चलाइएको छ । यो तथ्यांकको उमेर हद १६ देखि ३० वर्षको भएकोले सबैभन्दा जोखिम युवा वर्ग नै हो भन्न अतिशयोक्ति हुन्छ ।
यो जमातमा ८० प्रतिशत सहरी क्षेत्रबाट र बाँकी अन्य क्षेत्रको २० प्रतिशत पुष्टि गर्दछ । यो युवा वर्गहरूले प्रयोग गर्ने लागु पदार्थहरूमा गाँजा, चरेस, ब्राउन सुगर, हिरोइन, ट्रमाडोल, नाइट्रोजेपाम, कोडिन सिरपहरू आदि बढी मात्रमा भएको देखिन्छ । नेपालमा आधिकारिक रूपमा १ लाख ५० हजार जना सक्रिय लागु पदार्थ प्रयोगकर्ताहरू छन् भनिन्छ । तर, अनौपचारिक रूपमा ७ देखि १० लाखसम्म हुन सक्ने विभिन्न अध्ययन तथा अनुसन्धानले भनिरहेको छ ।
समस्या डर लाग्दो छ तर उपचारका प्रक्रिया असफल देखिन्छन् । तीन तहका सरकार यसको दीर्घकालीन असरबारे अनविज्ञ छैनन्, केही केहीमा काम पनि भइरहेको छ । काम गराई हेर्दा जुन मोडलमा भइरहेको छ त्यसलाई परिमार्जन गर्न भने अब ढिला गर्न हुँदैन । किनकि सचेत गराउने, सचेतना कार्यक्रम जस्ता विद्यालय स्तरमा, समुदायमा प्रभावकारी हुँदैन । अहिलेको पुस्ता, अघिल्लो पुस्ताहरूलाई लागु पदार्थले असर गर्छ, यसको लतमा लाग्नु हुँदैन, देशको कानुनले वर्जित गरेको छ आदि इत्यादिको ज्ञान छ ।
हामीलाई पनि थाहा भएको सूचना दिएर सचेत गराउने मात्र काम गरिरहेको छौँ विकल्प दिएका छैनौँ । किनकि सूचना वा जानकारीले काम गर्दैन । मदिरा पान गर्ने व्यक्तिलाई मदिराले असर गर्छ भन्ने पूर्ण ज्ञान हुन्छ, चुरोट पिउनेलाई यसले फोक्सो लगायत अन्य क्षेत्रहरूमा असर गर्छ भन्ने थाहा हुन्छ त्यसैले महत्त्वपूर्ण कुरा थाहा दिनु होइन । सही कुरालाई व्यवहारमा उतार्न, कार्यान्वयन गर्न सहजीकरण गर्नु नै आजको आवश्यकता हो ।
विगत केही महिनादेखि म आफै पनि शारीरिक र मानसिक रूपमा स्वास्थ्य हुनु पर्छ भन्ने उद्देश्यले बिहान बेलुकी नियमित रूपमा केही घण्टा पसिना बग्ने गरी हिँड्ने गर्दछु । स्वास्थ्यकर खानाहरू खान्छु, जंक फुड तथा प्रशोधित खानाहरू सकेसम्म कम गरिरहेको छु जुन मेरो परिवारमा पनि लागु भइरहेको छ । यो सन्दर्भ मैले किन जोडी रहेको छु भने तपाईं जे खानु हुन्छ, त्यसको प्रतिक्रियाले शरीर र मनले व्यवहारको माध्यमबाट देखाउने हो ।
स्वास्थ्य शरीर स्वास्थ्य मन जसले लागु पदार्थ लिनुपर्छ भन्ने निर्णय गर्न सक्दैन । बाल विकासको प्रमुख ५ क्षेत्रहरू, शारीरिक, बौद्धिक, सामाजिक, भावनात्मक र भाषा तथा संचारको विकासहरू हुन्छन् । यी सबै उत्तिकै महत्त्वपूर्ण छन् ।
तर भावनात्मक विकास चाहिँ ओझेलमा परेको छ अथवा यसको विकास हाम्रो प्राथमिकतामा परेको देखिँदैन । भावनात्मक विकास भन्नाले व्यक्तिले आफ्नो भावना बुझ्ने, सकारात्मक तवरबाट भावना व्यक्त गर्ने, नियन्त्रण गर्ने र अरू सँग स्वास्थ्य सम्बन्ध स्थापना बनाउने क्षमताको विकास गर्ने हो अर्थात् भावनात्मक विकासमा आत्म जागरूकता, आत्म नियन्त्रण, आत्म विश्वास, सहानुभूति, सामाजिक सम्बन्ध र तनाव व्यवस्थापनको सिपहरू पर्दछन् । यसको विकासमा अवरुद्ध वा असन्तुलनको परिणाम नै गलत चिजहरूसँगको सामीप्य हो जसमा लागु पदार्थ पनि एक मान्न सकिन्छ ।
त्यसैले लागु पदार्थ खाएर बिग्रियो भन्दा पनि बिग्रिएपछि खाएको भन्नु चाहिँ न्यायोचित होला । म अब लागु पदार्थ गाँजा, ट्याप्स, ब्राउन सुगर, सुइ आदी लिन्छु भन्ने निर्णयमा पुग्नु नै भावनात्मक अपरिपक्वताको उपज हो ।
लागु पदार्थ दुरुपयोगका समस्याहरू गम्भीर छन्, तर पनि समाधानविहीन होइनन् । यस्ता समस्याको दिगो सामनाका लागि प्रभावकारी उपचार र व्यवहारिक हस्तक्षेप आवश्यक हुन्छ । साथै, आजको आवश्यकता अनुसार सन्तान जन्माउने मात्र होइन । उनीहरूको समुचित हुर्काइ र विकासका लागि आवश्यक सिप पनि अभिभावकहरूमा हुन उत्तिकै महत्त्वपूर्ण छ ।
हालको विभिन्न अध्ययन तथा अवलोकनहरूले किशोरकिशोरीमा तथा अन्यमा पनि शारीरिक आकर्षण, स्वस्थ जीवनशैली र फिटनेसप्रति रुचि बढ्दो रहेको पाइन्छ । यस प्रवृत्तिलाई सकारात्मक दिशामा प्रवर्द्धन गर्न सकियो भने लागु पदार्थ दुरुपयोग नियन्त्रणमा ठोस उपलब्धि हासिल गर्न सकिन्छ । स्थानीय तहको स्तरदेखि नै सामुदायिक पूर्वाधारको विकाससँगै युवामैत्री वातावरण निर्माण गर्न आवश्यक छ ।
बिहान बेलुका हिँडडुल गर्न सहज हुने मार्ग, पार्क तथा खुला स्थान, साथै नियमित शारीरिक व्यायाम र खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने नीति र कार्यक्रम आवश्यक देखिन्छ । फुटबल, भलिबल, बास्केटबल जस्ता खेलहरूमा युवाको सहभागिता बढाउन सके सकारात्मक विकल्पहरू सिर्जना गर्न सकिन्छ । यस्ता क्रियाकलापले केबल शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । यसले पारिवारिक सम्बन्ध सुदृढ गर्न, भावनात्मक विकास प्रवर्द्धन गर्न, डिजिटल निर्भरता घटाउनको साथै जिम्मेवार जीवनशैलीतर्फ उन्मुख गराउन मद्दत पुर्याउँछ ।
संसारमा लागु पदार्थ दुरुपयोगको सबैभन्दा प्रभावकारी उपचार पद्धति भनेको (Bio-psycho-socio) मोडल हो । जसले शरीर, मस्तिष्क, व्यवहार, सोच, भावना, मन, समाज, परिवार र वातावरणमा काम गर्ने गर्दछ । एउटै विधिभन्दा पनि इन्टिग्रेटेड विधिबाट अझ राम्रो नतिजा आउने विभिन्न अध्ययनहरूले समेत सिफारिस गर्दछ ।
अन्ततः लागु पदार्थविरुद्धको लडाइँ केवल नियन्त्रण वा कानुनको विषय मात्र होइन यो हाम्रो व्यवहार, सोच र सामाजिक वातावरणसँग जोडिएको विषय हो । यसर्थ भावनात्मक विकास, स्वास्थ्य जीवनशैली र सकारात्मक सामाजिक वातावरण निर्माणमार्फत दीर्घकालीन समस्या समाधान सम्भव देखिन्छ ।
लेखक
काउन्सिलर, समावेशी शिक्षक
हाल एसओएस बालग्राम इटहरीमा कार्यरत

























