
विराटनगर । नेपालको नर्सिङ शिक्षाको क्षेत्रमा नयाँ अध्याय थपिएको छ । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले नेपालमै पहिलो पटक अत्याधुनिक पूर्वाधारयुक्त ‘स्कुल अफ नर्सिङ’ सञ्चालनमा ल्याएको छ । नर्सिङ शिक्षालाई प्रविधिमैत्री, सीपमूलक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउने लक्ष्यका साथ ‘स्कुल अफ नर्सिङ’ सञ्चालन ल्याएको हो ।
हस्पिटल परिसरमा निर्माण गरिएको ‘डेडिकेटेड’ स्कुल अफ नर्सिङको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्की र संस्थापक उपाध्यक्ष डा. इरिना कार्कीले संयुक्त रूपमा गरे ।
नेपालमै पहिलो पटक बीएससी नर्सिङ र नर्सिङ कार्यक्रमका लागि सम्पूर्ण अत्याधुनिक सुविधासहितको छुट्टै विभाग स्थापना गरिएको अध्यक्ष डा. कार्कीले बताए । स्कुल पहिलेदेखि नै सञ्चालनमा रहे पनि हाल आधुनिक भौतिक पूर्वाधारसहित नयाँ स्वरूपमा सञ्चालनमा आएको प्रिन्सिपल प्रा. डा. सन्तोष उपाध्यायले जानकारी दिए ।
कलेजका अनुसार यस स्कुलमा नर्सिङ शिक्षाका लागि आवश्यक विभिन्न विश्व स्तरीय प्रयोगशालाहरू निर्माण गरिएका छ । जसमा फन्डामेन्टल अफ नर्सिङ स्किल ल्याब, मिडवाइफ्री नर्सिङ स्किल ल्याब, चाइल्ड हेल्थ स्किल ल्याब, कम्युनिटी हेल्थ नर्सिङ ल्याब, न्युट्रिसन एन्ड डाइटेटिक्स ल्याब सेवा रहेको छ ।
विद्यार्थीहरूले वास्तविक अस्पतालकै वातावरणमा आधारित भएर सिक्न सकुन् भन्ने उद्देश्यले यहाँ सिमुलेसन आधारित शिक्षण प्रणाली विकास गरिएको छ । यसअन्तर्गत शल्यक्रिया कक्ष, नवजात शिशु सघन उपचार कक्ष, प्रसूति कक्ष र सघन उपचार कक्षको कृत्रिम वातावरण तयार पारिएको छ । यसले गर्दा विद्यार्थीहरूले वास्तविक बिरामीको उपचार गर्नुअघि नै आवश्यक उपचार प्रक्रिया र क्लिनिकल सीपमा पूर्ण अभ्यस्त हुने अवसर पाउने छन् ।
क्लिनिकल स्कील्स ट्रेनिङ, सिमुलेसन बेस्ड प्राक्टिस, नर्सिङ प्रोसिजर, क्रिटिकल केयर सिमुलेसन र डिजिटल लर्निङ रिसोर्सजस्ता सुविधाहरूले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक दक्षता हासिल गर्न ठुलो सहयोग पुग्ने कलेजको विश्वास छ । प्रोग्राम कोर्डिनेटर एसोसिएट प्रोफेसर इन्दु साहका अनुसार स्कुलमा नर्सिङ शिक्षाका लागि चाहिने सम्पूर्ण अत्याधुनिक सुविधाहरू उपलब्ध छन् ।
नयाँ प्रणालीले विद्यार्थीहरूमा आवश्यक सीप, आत्मविश्वास र व्यावसायिक क्षमता विकास गर्न मद्दत पुग्ने छ । यसबाट भविष्यमा उत्पादन हुने नर्सिङ जनशक्ति दक्ष, सक्षम र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी हुने तथा अस्पतालको सेवा गुणस्तरमा समेत थप वृद्धि हुने अपेक्षा गरिएको छ ।
आगामी दिनमा यस ‘स्कुल अफ नर्सिङ’लाई थप प्रविधिमैत्री, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट शिक्षण केन्द्रका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता विराट मेडिकल कलेज टिचिङ हस्पिटलले व्यक्त गरेको छ ।



















