विश्वविद्यालयमा अध्ययन बिदा दुरुपयोग र जग्गा छानबिन गर्न समिति गठन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार १३:३३
विश्वविद्यालयमा अध्ययन बिदा दुरुपयोग र जग्गा छानबिन गर्न समिति गठन

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयमा सुशासन, पारदर्शिता र संस्थागत सुधारका लागि कडा कदम चाल्न सुरु गरिएको छ । नवनियुक्त उपकुलपति प्रा.डा. किशन दत्त भट्टले पदभार ग्रहण गरेसँगै विश्वविद्यालयभित्र रहेका बेथिति अन्त्य गर्न र प्रशासनिक सुधारका लागि महत्त्वपूर्ण निर्णयहरू भएका हुन् ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले प्राध्यापकहरूले पाउने अध्ययन बिदाको दुरुपयोग भइरहेको गुनासो सम्बोधन गर्न छानबिन समिति गठन गरेको छ। प्रा.डा. राजेन्द्रप्रसाद भट्टको संयोजकत्वमा गठित उक्त समितिले अध्ययन बिदाको प्रभावकारिता र दुरुपयोगबारे विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउने छ ।

त्यसैगरी, विश्वविद्यालय र यसका आंगिक क्याम्पसहरूको नाममा रहेको जग्गाको अवस्था र भोग चलनबारे अध्ययन गर्न प्राध्यापक यज्ञराज पाठकको संयोजकत्वमा अर्को समिति बनाइएको छ। विश्वविद्यालयको सम्पत्ति संरक्षण र जग्गा सम्बन्धी विवाद सुल्झाउन यो समितिले काम गर्ने छ।

विश्वविद्यालयका आंगिक क्याम्पसहरूले प्रदान गर्दै आएको १० प्रतिशत छात्रवृत्तिलाई लक्षित वर्गसम्म पुर्‍याउन र प्रक्रियालाई पारदर्शी बनाउन व्यवस्थापन संकायका डीन केशवराज भट्टको संयोजकत्वमा कार्यविधि निर्माण समिति गठन गरिएको छ। यसले छात्रवृत्ति वितरणमा हुने भनसुन र अनियमिततालाई पूर्ण रूपमा रोक्ने विश्वास गरिएको छ।

विश्वविद्यालयको प्राज्ञिक स्तर सुधार्नका लागि भौतिक संरचना निर्माणलाई पनि तीव्रता दिइएको छ। मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, सामान्य विज्ञान, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि र कानुन केन्द्रीय विभागका शैक्षिक एवं प्रशासनिक भवन निर्माणका लागि विद्युतीय बोलपत्र आह्वान गरिएको छ। यसले विश्वविद्यालयको केन्द्रीय क्याम्पसको मुहार फेर्ने अपेक्षा गरिएको छ।

विश्वविद्यालय प्रशासनका अनुसार, उपकुलपति प्रा.डा. भट्टको प्राथमिकतामा सुशासन र संस्थागत पारदर्शिता रहेकाले आगामी दिनमा थप सुधारका कार्यक्रमहरू ल्याइने छ । यी कदमहरूले सुदूरपश्चिम विश्वविद्यालयलाई एक मर्यादित र व्यवस्थित प्राज्ञिक केन्द्रका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.