त्रिविको एमबीएस प्रश्नपत्र भाइरल प्रकरणमा साइबर ब्युरोले थाल्यो अनुसन्धान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १३:२०

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएपछि त्रिवि प्रशासनमा हलचल मच्चिएको छ।

गत बिहीबार १२ बजेदेखि ४ बजेसम्म सञ्चालित ‘एमबीएस ६१५: अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षामा प्रश्नपत्र वितरण भएको दुई देखि छ मिनेटभित्रै अर्थात् १२ बजेर ६ मिनेटमै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको थियो। परीक्षा सुरु हुनुअघि केन्द्राध्यक्षको रोहबरमा मात्र शिलबन्दी खोलिने प्रश्नपत्र हलभित्र वितरण गर्दागर्दै सामाजिक सञ्जालमा पुगेपछि त्रिविको परीक्षा प्रणाली र सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न उठेको छ।

Advertisement

घटना सार्वजनिक भएलगत्तै त्रिविले दोषी पत्ता लगाउन छानबिनको तयारी थालेको छ। त्रिवि व्यवस्थापन सङ्कायका डिन प्रा. डा. महानन्द चालिसेले घटनाको छानबिनका लागि आइतबार बिहान ७:३० बजे आकस्मिक बैठक बोलाएका छन्। उक्त बैठकले त्रिवि र डिन कार्यालयको तर्फबाट संयुक्त छानबिन समिति गठन गरी सत्यतथ्य पत्ता लगाउन काम अघि बढाउने तयारी गरेको छ।

यद्यपि डिन चालिसेले यो प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको (लिक भएको) नभई परीक्षा सुरु भइसकेपछि कसैले मोबाइलबाट खिचेर बाहिर पठाएको दाबी गरे।

प्रश्नपत्र ह्वाट्सएप र फेसबुकका विभिन्न ग्रुपहरूमा भाइरल भएपछि त्रिवि प्रशासनले अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई औपचारिक पत्राचार गरिसकेको छ। व्यवस्थापन सङ्कायका सहायक डिन डा. भरत राईले शनिबार साइबर ब्युरोलाई पत्र लेख्दै साउन ८ गते राति करिब १० बजे ‘टीयू स्टुडेन्ट’ नामक फेसबुक आईडीमार्फत प्रश्नपत्र ह्वाट्सएप समूहहरूमा पोस्ट भएको जानकारी आएको उल्लेख गरे।

उनले घटनामा संलग्न व्यक्ति, संस्था वा सम्भावित परीक्षा केन्द्रको पहिचान गरी कडा कारबाही गर्न प्रहरीसँग अनुरोध गरे। साइबर ब्युरोले प्रश्नपत्र फैलाउन प्रयोग भएका मोबाइल नम्बर र च्याटहरू पछ्याउँदै प्राविधिक अनुसन्धान सुरु गरिसकेको छ।

यता, विद्यार्थीको मेहनत र विश्वविद्यालयको प्रतिष्ठामा आँच पुगेको भन्दै त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले कडा आपत्ति जनाएको छ। स्ववियु सभापति दीपकराज जोशीले घटना अत्यन्तै गम्भीर भएको भन्दै दुई दिनभित्र सत्यतथ्य छानबिन गरी दोषी सार्वजनिक गर्न माग गरे।

उनले परीक्षाको निष्पक्षतामाथि सम्झौता हुन नसक्ने भन्दै दुई दिनभित्र दोषीलाई कारबाही नगरे व्यवस्थापन सङ्कायका डिन र परीक्षा हेर्ने सहायक डिनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने चेतावनी दिए।

तपाइको प्रतिक्रिया
मोबाइल नदिएको निहुँमा साथीको हत्या गरेको खुल्यो
आज राति कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
खोटाङमा पहिरोको त्रास : सिंगो गाउँ जोखिममा
वित्तीय शोषणविरुद्ध लघुवित्त पीडितहरूको प्रदर्शन
२० वर्षपछि पक्राउ परे म्याग्दी आक्रमणको बेला कारागारबाट फरार अभियुक्त 
झापामा सुरक्षा जाँच छल्न खोजेका युवक लागूऔषधसहित पक्राउ
सत्ता समीकरण फेरिएपछि लुम्बिनीका कांग्रेस मन्त्रीहरूको सामूहिक राजीनामा
बदलिएको राजनीति : कांग्रेसद्वारा प्रदेश सभापति र मुख्यमन्त्रीहरूसँग छलफल
डा. केसीको मागबारे छलफल गर्न वार्ता सुरु
प्रश्नपत्र काण्ड : त्रिवि स्ववियूले माग्यो डिन र सहायक डिनको राजीनामा
कांग्रेस र कम्युनिस्टका कारण देशमा भाँडभैलो मच्चियो: यादव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×