नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १७:२३
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीका कारण उत्पन्न संकटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै पार्टीका सबै पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार (आज) बसेको आकस्मिक केन्द्रीय समिति बैठकले राहत र उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका सभापति गगनकुमार थापाले रसुवामा आएको अप्रत्याशित र गम्भीर बाढीका कारण जनधनको ठुलो क्षति भएकोमा चिन्ता व्यक्त गर्दै पार्टीका सम्पूर्ण शक्तिलाई उद्धारमा जुट्न निर्देशन दिए । ‘विपद्को यो घडीमा पार्टीका राजनीतिक कार्यक्रमभन्दा नागरिकको जिउधनको रक्षा महत्त्वपूर्ण छ,’ उनले भने ।

Advertisement

कांग्रेसले आजका लागि तय गरिएको  ‘ग्रिन टेबल’ र भोलि बिहीबार हुने भनिएको ‘महिला उद्यमी सम्मेलन’ तत्कालका लागि स्थगित गरेको छ । अब पार्टीको सम्पूर्ण ध्यान र जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिने बताइएको छ ।

सभापति थापाले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।  उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग माग गर्दै विपद् व्यवस्थापनमा नेपाली कांग्रेसले सरकारलाई पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘सरकारले बोलाएको बैठकमा हाम्रा संसदीय दलका नेता र रसुवाका सांसदले आफ्ना धारणा राखिसक्नुभएको छ, हामी सरकारसँग काँधमा काँध मिलाएर काम गर्न तयार छौँ,’ उनले थपे ।

कांग्रेसले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका बाढी प्रभावित जिल्लाका पार्टी समिति, नेतृत्व र सदस्यहरूलाई तत्काल उद्धार र राहत कार्यमा खटिन अपिल गरेको छ । आफ्ना कार्यकर्तालाई सुरक्षित रहँदै खोज र राहतमा लाग्न आग्रह गरिएको छ ।

यसैगरी, बाढी प्रभावितहरूका लागि देशव्यापी रूपमा सहयोग जुटाउन र सरकारसँग आवश्यक समन्वय गर्न रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको संयोजकत्वमा एक विशेष टोली गठन गरिएको छ । यो टोलीले पार्टीका देशभरका सदस्यहरूबाट सहयोग संकलन गर्ने र प्रभावित क्षेत्रमा पुर्‍याउने कामको नेतृत्व गर्नेछ ।

कांग्रेसले विपद्को यस समयमा राजनीतिभन्दा माथि उठेर मानवीय सेवामा समर्पित हुन आफ्ना सबै तहका कार्यकर्ताहरूलाई आह्वान गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×