
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीयतालाई बलियो बनाउनु पार्टीको नीतिगत चाहना रहेको बताएका छन् । प्रदेश संरचनालाई कमजोर बनाउन खोजेको भन्दै पार्टीमाथि विभिन्न आरोप लाग्ने गरेको उल्लेख गर्दै उनले संघीयता र प्रदेश संरचनालाई बलियो बनाउने विषयमा छलफल गर्न रास्वपा सधैँ तयार रहेको बताए ।
रास्वपाका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहको मेची-महाकाली पदयात्राको सोमबार शुभारम्भ गर्दै लामिछानेले कुनै पनि सरकार कमजोर हुनु नहुने धारणा राखे । सबै सरकार स्थिर र मजबुत रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले सरकार कमजोर हुँदा अस्थिरता बढ्ने र त्यसको असर जनताको विकास तथा जनजीविकामा पर्ने बताए ।
‘हिजो-अस्ति मात्रै मधेश प्रदेश सरकार संकटमा परेको छ । कुनै पनि सरकार कमजोर बन्नु हुँदैन । सरकार कमजोर भयो र अस्थिरता आयो भने जनताको विकास र जनजीविकाका सवाल बाधित हुन्छन्,’ उनले भने ।
यसका लागि नीतिगत सुधार आवश्यक रहेको लामिछानेको भनाइ थियो । सबै दलसँग छलफल र सहकार्य गरेर अघि बढ्न चाहेको उल्लेख गर्दै उनले स्थानीय तहलाई दिइएको अधिकारमा कमजोरी भए त्यसलाई पनि सुधार गर्नुपर्ने बताए । स्थानीय तहलाई थप बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।
सिंहको पदयात्राले पार्टीलाई मात्र नभई देशलाई पनि बलियो बनाउने लामिछानेले बताए । राजनीति र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशमा सद्भाव कायम गर्न तथा राष्ट्रिय एकताको सन्देश दिन यात्रा सफल हुनेमा आफू आशावादी रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा सिंहले छठ पर्वका लागि जनकपुरधाम आएको अवसरमा यात्राको शुभारम्भ गरिएको बताए । औपचारिक शुभारम्भ जनकपुरधाममा भए पनि पदयात्रा भने मंगलबारदेखि झापास्थित मेची पुलबाट सुरु हुने उनले जानकारी दिए ।
रास्वपालाई जनताले ठूलो विश्वासका साथ मत दिएको उल्लेख गर्दै सिंहले पार्टी असफल हुने छुट नरहेको बताए । ‘रास्वपा असफल भयो भने देश नै असफल हुन्छ,’ उनले भने । जनता बलियो भए मात्रै राष्ट्रियता बलियो हुने भन्दै उनले आफ्नो पदयात्रा राष्ट्रियता र देशलाई बलियो बनाउने उद्देश्यले अघि बढाइएको बताए ।



















