
विराटनगर । विराटनगरस्थित अरनिको कलेजले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ । बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि अरनिको कलेजले १० लाख १ हजार १ सय १ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
कलेजले बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङलाई हस्तान्तरण गरेको छ । कलेजका प्राचार्य राजेश कार्की तथा सञ्चालकहरूले संयुक्त रूपमा हिसान मोरङका अध्यक्ष अमित ढकाल र कोशी प्रदेश सचिव दिपेश बास्तोलालाई सहयोग रकम १० लाख १ हजार १ सय १ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।
प्राकृतिक विपत्तिको समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको कलेजका प्राचार्य कार्कीले बताए । चेक हस्तान्तरण कार्यक्रममा कलेजका सञ्चालकहरू भरतराज दाहाल, निलमकुमार अधिकारी, विकास खनाल, विलास लुइँटेल, डा. भविन्द्र निरौला, लक्ष्मीप्रसाद अधिकारी र शैलेसकुमार झाको उपस्थिति रहेको थियो ।

























