
विराटनगर । विराटनगरको ५९औँ राधाकृष्ण रथयात्रामा लाखौँले सहभागिता जनाउने अपेक्षासँगै सुरक्षा व्यवस्थालाई प्रहरीले उच्च प्राथमिकतामा राखेको छ ।
भिडभाडको मौका छोपेर हुन सक्ने चोरी, पाकेटमारी, अवाञ्छित र उच्छृङ्खल गतिविधि तथा मानिस हराउने एवं अन्य आपराधिक गतिविधि नियन्त्रणसँगै सम्भावित दुर्घटना रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिएका छन् । एसपी कटवालका अनुसार रथयात्राको भिडमा हुने गतिविधिमाथि प्रहरीले विशेष निगरानी गर्नेछ ।
भिडको अवस्था तथा सम्भावित जोखिमका बारेमा निगरानी गर्न ड्रोनसमेत प्रयोग गरिनेछ । रथयात्राका क्रममा उच्छृङ्खल गतिविधि गर्ने, चोरी तथा अन्य आपराधिक क्रियाकलापमा संलग्न हुने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने जानकारी उनले दिए ।
प्रहरीले रथयात्रामा सहभागी हुने भक्तजन तथा सर्वसाधारणलाई भिडभाडमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । रथयात्राका क्रममा बहुमूल्य गरगहना, महँगा मोबाइल तथा अनावश्यक मूल्यवान् सामान नबोक्न प्रहरीको सुझाव छ । साथमा भएका सामानको सुरक्षामा स्वयं सचेत रहन र अपरिचित व्यक्तिको गतिविधिमाथि पनि ध्यान दिन एसपी कटवालले आग्रह गरेका छन् ।
रथयात्रामा बालबालिका, अशक्त तथा वृद्धवृद्धालाई अत्यधिक भिड भएको स्थानमा नलगी सुरक्षित स्थानबाट दर्शन गराउन प्रहरीले आग्रह गरेको छ । भिडमा बालबालिका हराउन सक्ने भएकाले उनीहरूको साथ नछोड्न र आवश्यक परे परिचय खुल्ने विवरण साथमा राख्नसमेत सुझाव दिइएको छ ।
रथयात्रा हेर्न घरका सबै सदस्य एकैपटक बाहिर निस्कँदा घर पूर्णरूपमा खाली नछाड्न पनि प्रहरीले आग्रह गरेको छ । सम्भव भएसम्म घरको सुरक्षाका लागि एक–दुई जना सदस्य घरमै बस्न वा छिमेकीसँग समन्वय गर्न प्रहरीले सुझाव दिएको छ ।
त्यस्तै, रथयात्राका क्रममा सडकमा अत्यधिक भिड हुने भएकाले सहज तथा सुरक्षित जुत्ता लगाएर आउन पनि प्रहरीले अनुरोध गरेको छ । भिडमा धकेलाधकेल हुने अवस्था आउन सक्ने भएकाले दौडधुप नगर्न, संयमित भएर हिँड्न र सुरक्षाकर्मीले दिएको निर्देशन पालना गर्न एसपी कटवालको आग्रह छ ।
घरका छत, रेलिङ तथा अग्ला स्थानबाट रथयात्रा हेर्नेहरूलाई पनि विशेष सावधानी अपनाउन प्रहरीले भनेको छ । विशेषगरी बालबालिकालाई अग्लो स्थानमा एक्लै नछाड्न र भिडको उत्साहमा जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरिएको छ ।
रथयात्राका क्रममा चोरी भएमा, व्यक्ति हराएमा, झगडा, दुर्घटना वा अन्य कुनै समस्या भएमा तत्काल प्रहरीलाई खबर गर्न कटवालको आग्रह छ । आपत्कालीन अवस्थामा मोरङ प्रहरीको १०० नम्बरमा फोन गरी जानकारी गराउन सकिने छ ।
यसपटकको रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन आयोजक, स्वयंसेवक तथा सुरक्षा निकायबीच समन्वय गरिएको छ । रथयात्रालाई लक्षित गरेर १ हजार १ सदस्यीय मूल समारोह समिति तथा २१ वटा उपसमिति गठन गरिएको छ ।
यस वर्ष रथयात्रामा डीजे साउन्ड प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । धार्मिक पर्वको मौलिकता र आध्यात्मिक वातावरण कायम राख्न डीजेको सट्टा भजन–कीर्तन, धार्मिक झाँकी तथा परम्परागत प्रस्तुतिलाई प्राथमिकता दिइएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले बताए ।
रथयात्राका क्रममा रथमा राखिएका दुईवटा हर्न माइकबाट भगवानका भजन बजाइनेछन् । विभिन्न स्थानमा स्थानीय भजन मण्डलीले भजन–कीर्तन प्रस्तुत गर्नेछन् ।
विराटनगरको राधाकृष्ण रथयात्राको इतिहास पनि लामो छ । विसं १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि खट यात्राबाट सुरु भएको धार्मिक परम्परा विसं २०२५ देखि भव्य रथयात्राका रूपमा अघि बढेको हो । खट यात्राको हिसाबले यो ९५औँ यात्रा भए पनि रथयात्राका रूपमा भने ५९औँ हो ।
राधाकृष्ण मन्दिरबाट शनिबार दिउँसो ३ बजे सुरु हुने रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ जानेछ । त्यसपछि बरगाछी हुँदै दुर्गा चोक पुगेर पुनः राधाकृष्ण मन्दिरमा फर्किनेछ । करिब ८ किलोमिटर दूरी तय गर्ने रथयात्रामा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ ।
यसपटक रथयात्राका क्रममा संकलन हुने भेटी तथा दानपेटिकाबाट उठ्ने रकम भोटेकोशी बाढीपीडितको राहतका लागि प्रयोग गरिने आयोजकले जनाएको छ । रथयात्रामा ठूलो संख्यामा मानिसको सहभागिता हुने भएकाले प्रहरीले सबैभन्दा बढी सुरक्षामा स्वयं सर्वसाधारणको पनि भूमिका रहन्छ ।
भिडमा संयमित भएर हिँड्न, आफ्ना सामानको सुरक्षा आफैँ गर्न, बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्न र कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन एसपी कटवालले आग्रह गरेका छन् । उनले रथयात्रा धार्मिक आस्था र उत्सवसँग जोडिएको कार्यक्रम भएकाले सबै जना एकअर्काको सुरक्षामा ध्यान दिँदै शान्तिपूर्ण रूपमा सहभागी हुनुपर्ने बताए ।

























