
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले विद्यालय हाताभित्र राजनीतिक दलका गतिविधि तथा कार्यक्रमहरू सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्लाभित्रका कुनै पनि विद्यालयमा त्यस्ता कार्यक्रम नगर्न भनिएको छ ।
पठनपाठन र विशुद्ध शैक्षिक गतिविधि सञ्चालन हुने विद्यालयजस्ता संवेदनशील क्षेत्रमा दलगत कार्यक्रमहरू नगर्न प्रशासनले सचेत गराएको हो । सुनसरी प्रशासनले सार्वजनिक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक विद्यालयका कक्षाकोठा तथा विद्यालय परिसरमा राजनीतिक दलहरूले आफ्ना दलसँग सम्बन्धित कार्यक्रमहरू गरिरहेको भनी व्यापक गुनासो आएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाद्वारा जारी गरिएको सूचनामा राजनीतिक दलका आन्तरिक कार्यक्रमहरू चुनाव, बैठक, तालिम, अभिमुखीकरण, आमसभा तथा भेलाजस्ता गतिविधि विद्यालयमा नगर्न र नगराउन जिल्लास्थित सम्पूर्ण राजनीतिक दलहरूलाई आग्रह गरिएको छ ।
विद्यालय परिसरभित्र यस्ता राजनीतिक गतिविधि हुन नदिन सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय तथा स्थानीय सरकारहरूलाई समेत प्रशासनले आग्रह गरेको छ ।

























