
विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा भएको जुनियर लेभल (कक्षा १–३) स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम हुँदै च्याम्पियन बनेको छ ।
प्रतियोगितामा एभरेस्ट सेकेन्डरी स्कुल द्वितीय, डिएभी स्कुल तृतीय तथा गौतमबुद्ध सेकेन्डरी स्कुल सान्त्वना भएको छ । प्रतियोगिताका विभिन्न चरणमा सबैभन्दा बढी सही उत्तर दिँदै एभरेस्ट सेकेन्डरी स्कुलले बेस्ट स्पेलर अवार्ड समेत प्राप्त गरेको छ ।
कार्यक्रमकी प्रमुख अतिथि प्याब्सन केन्द्रीय कार्यसमिति सदस्य शीतला सुब्बाले विद्यार्थीको सिकाइलाई प्रतिस्पर्धात्मक र रमाइलो बनाउँदै भाषा तथा शब्द ज्ञान विकास गर्न यस्ता प्रतियोगिता महत्त्वपूर्ण हुने बताइन् । उनले विद्यार्थीको प्रतिभा पहिचानसँगै आत्मविश्वास अभिवृद्धिका लागि विद्यालय स्तरमा सिर्जनात्मक तथा ज्ञानमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीको ज्ञान, क्षमता र प्रतिभा प्रस्फुटनका लागि प्याब्सन विराटनगरले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताए । उनले प्रतियोगितालाई जित–हारमा मात्र सीमित नगरी विद्यार्थीको सिकाइ, आत्मविश्वास र व्यक्तित्व विकाससँग जोडेर हेर्नुपर्ने धारणा राखे ।
कार्यक्रमका संयोजक ईश्वरीप्रसाद मिश्रले सहभागी विद्यार्थी तथा विद्यालयलाई धन्यवाद दिँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने बताए ।
प्रतियोगितामा विराटनगरका २६ वटा विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थी सहभागी भएका थिए । प्रतियोगिताले विद्यार्थीको शब्द ज्ञान, सही हिज्जे लेख्ने क्षमता, आत्मविश्वास तथा स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकासमा सहयोग पुगेको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामा, कोषाध्यक्ष गोपाल रिजाल, सहसचिव दिनेश ढुंगाना, सहकोषाध्यक्ष देविलाल महतो, सदस्य यादव प्रधान र विजय सिंहसहित विभिन्न विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक तथा अभिभावकको उपस्थिति थियो ।

























