
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–बतासेकी २६ वर्षीया रेस्मिका परियारको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत खोटाङले सफाइ दिएको छ।
जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासले सोमबार बतासेका २८ वर्षीय हेमन परियार, दिपक राई र सप्तेश्वर छितापोखरीका २५ वर्षीय दिपक श्रेष्ठलाई सफाइ दिएको हो। उनीहरूलाई गत जेठ १२ गते पक्राउ गरिएको थियो। अदालतबाट तीनै जना घटनामा दोषी नदेखिएपछि सफाइ पाएको जिल्ला अदालत खोटाङका श्रेस्तेदार रामचन्द्र मण्डलले बताए।
गत वर्ष भदौ ३० गते रेस्मिका मृत अवस्थामा फेला परेकी थिइन्। स्थानीय अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत उनी कार्यालय रहेको पञ्चमी बजारबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनमा हत्या भएको प्रहरीले जनाएको थियो। घटनामा संलग्न रहेको आरोपमा १६ वर्षीय एक किशोरलाई २०८२ असोज १ गते नै पक्राउ गरिएको थियो। तर एक जनाले मात्र घटना गराउन नसक्ने भन्दै थप व्यक्तिको संलग्नता रहेको दाबी गर्दै रेस्मिकाका आफन्तले उच्च अदालत ओखलढुंगामा जाहेरी दिएका थिए।
उक्त जाहेरीका आधारमा उच्च अदालत ओखलढुंगाका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र युवराज गौतमको वैशाख २८ गतेको इजलासले तीन जनालाई पक्राउ गर्न आदेश दिएको थियो। त्यसपछि उनीहरू पक्राउ परेका थिए। सोमबार अदालतले तीनै जनालाई सफाइ दिएपछि रेस्मिकाका परिवार तथा आफन्तले अदालत परिसरमा विरोध जनाएका थिए। उनीहरूले दोषीलाई सफाइ दिइएको भन्दै अदालतको गेटमा नाराबाजी गरेका थिए।



















