अध्ययन बिदा लिएर नफर्किएका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार २०:३२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट हालसम्म करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ।

त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार अध्ययन बिदापछि सेवामा नफर्किएका तथा फर्किएर पनि तोकिएको सेवा अवधि पूरा नगरेका ७५ वटा अवस्थाबाट उक्त रकम असुल गरिएको हो। विश्वविद्यालयका अनुसार अध्ययन बिदाका क्रममा प्राप्त गरेको तलब, भत्ता तथा अन्य सुविधासमेतलाई आधार मानी नियमानुसार हर्जाना जोडेर रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको छ।

Advertisement

थप शिक्षक तथा कर्मचारीको अभिलेख खोजी गरी हिसाबकिताब तयार गर्ने काम पनि भइरहेको त्रिविले जनाएको छ। उपलब्ध विवरणअनुसार हिसाबकिताब भइसकेका अवस्थाबाट मात्रै करिब २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ।

सम्पर्कमा आएका शिक्षक-कर्मचारीका व्यक्तिगत अभिलेख खोजी तथा अध्ययन गर्ने काम भइरहेको र विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम निर्धारण गरी असुलउपर गर्ने प्रक्रिया जारी रहेको त्रिविले जनाएको छ। अध्ययन बिदा लिएपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई आगामी पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न त्रिविले आग्रह गरेको छ।

तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×