दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार १९:३३
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ

झापा । झापाको दमकबाट प्रहरीले नक्कली भारतीय रूपैयाँसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार बुधबार बेलुका दमक नगरपालिका-६ स्थित देवकोटा चोकबाट इलाका प्रहरी कार्यालय दमकको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारतको किसनगन्ज जिल्ला, खनियाबाद वडा-३, फतेहपुरका २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रुवेद आलम रहेका छन् । बीआर ३७ जे २७०८ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरूमाथि शंका लागी प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो।

तलासीका क्रममा अब्दुल माजिदको साथबाट ५०० दरका ७० थान गरी जम्मा ३५ हजार भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।  बरामद गरिएका नोटहरूमध्ये अधिकांशको नम्बर दोहोरिएको पाइएपछि नक्कली भएको शंका लागी परीक्षणका लागि नेपाल राष्ट्र बैंक, विराटनगर पठाइएको थियो।

परीक्षणका क्रममा ती सबै ७० थान नोटहरू नक्कली भएको पुष्टि भएको हो।  नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई मुद्रासम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको छ। उनीहरूलाई जिल्ला अदालत झापाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रन्जन अवाले जानकारी दिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×