डीआईजी थापाद्वारा मोरङका सीमा क्षेत्रको आकस्मिक निरीक्षण

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार ०६:३३

विराटनगर । नेपालीहरुको महान् चाडपर्व दसैं, तिहार, छठ नजिकिँदै गरेका बेला सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डीआईजी मनिष थापाले मोरङका सीमा क्षेत्र तथा मातहतका युनिट र सीमा पोस्टहरुको सोमबार आकस्मिक निरीक्षण गरेका छन् ।

डीआईजी थापाले स्थलगत निरीक्षण गरेर मोरङ जिल्लाका विभिन्न सीमा युनिट, सीमा पोस्ट तथा ड्युटीमा खटिएका सुरक्षाकर्मीको अवस्थाका बारेमा बुझेका हुन् । निरीक्षणका क्रममा उनले चाडपर्वका बेला सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि तथा अवैध सामानको ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिए ।

उनले चाडपर्व लक्षित आन्तरिक तथा बाह्य सुरक्षा योजनालाई कडाइका साथ कार्यान्वयन गर्न तथा सीमा क्षेत्रमा हुने गतिविधिमाथि सूक्ष्म निगरानी बढाउन मातहतका सुरक्षा युनिटलाई निर्देशन दिएका छन् । सीमा अपराध नियन्त्रण, चोरी–तस्करी तथा अवैध सामानको ओसारपसार रोक्न नियमित गस्ती र निगरानीलाई प्रभावकारी बनाउनुपर्नेमा डीआईजी थापाले जोड दिए ।

सीमा क्षेत्रमा शंकास्पद गतिविधि देखिए तत्काल पहिचान गरी आवश्यक कारबाही अघि बढाउनसमेत उनको निर्देशन छ । चाडपर्वको समयमा सीमा नाकाबाट हुने आवतजावत बढ्ने भएकाले सुरक्षा सतर्कता अझ मजबुत बनाउनुपर्ने भन्दै उनले सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

सशस्त्र प्रहरी बलले चाडपर्वको अवधिमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा अवैध गतिविधि रोकथामका लागि मातहतका सबै युनिटलाई थप सक्रिय बनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×