सिद्धार्थ स्कुलमा १२० शिक्षकलाई एआई तालिम

Share this
663shares
मुलुकी खबर
पवन भण्डारी
clock२०८३ आश्विन २१, बुधबार ११:५९

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले शिक्षण–सिकाइ प्रक्रियालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले आफ्ना १२० जना शिक्षकलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी प्रशिक्षण दिएको छ।

शिक्षा क्षेत्रमा एआईको प्रयोग बढ्दै गइरहेका बेला शिक्षकलाई एआईको ज्ञान तथा व्यावहारिक सीप प्रदान गर्दै कक्षाकोठाको शिक्षणलाई थप प्रभावकारी, सिर्जनात्मक र प्रविधिमैत्री बनाउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको विद्यालयले जनाएको छ।

आइएन्जी ग्रुपको सहकार्यमा आयोजित प्रशिक्षणमा विभिन्न विधामा दक्ष १० जनाभन्दा बढी एआई विज्ञ तथा प्रशिक्षक सहभागी थिए। समूहगत रूपमा सञ्चालन गरिएको प्रशिक्षणमा एआईको आधारभूत अवधारणादेखि शिक्षण–सिकाइमा यसको प्रयोग, शैक्षिक सामग्री निर्माण, पाठयोजना तयारी, विद्यार्थीको सिकाइ सहजीकरण तथा सिर्जनात्मक कार्यमा एआईको उपयोगबारे शिक्षकलाई जानकारी दिइएको थियो।

विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले समयसँगै शिक्षाको स्वरूप र सिकाउने तरिका परिवर्तन हुँदै गएकाले विद्यालयले प्रविधिमैत्री शिक्षणलाई प्राथमिकता दिएको बताए।

उनका अनुसार एआईलाई सही ढंगले प्रयोग गर्न सके शिक्षकको कामलाई सहज बनाउनुका साथै विद्यार्थीको सिकाइलाई अझ सिर्जनात्मक र प्रभावकारी बनाउन सकिन्छ। एआईले शिक्षकलाई विस्थापित गर्ने नभई शिक्षकको क्षमता र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने माध्यमका रूपमा लिनुपर्ने उनको भनाइ छ।

बस्नेतले शिक्षकले एआईको सम्भावना, सीमितता र जिम्मेवार प्रयोगबारे समेत बुझ्न आवश्यक रहेको बताए। विद्यार्थीलाई भविष्यका लागि तयार गर्ने हो भने शिक्षकलाई पनि भविष्यको शिक्षण पद्धतिसँगै तयार गर्नुपर्ने उनको भनाइ छ।

विद्यालयले एआईसँगै रोबोटिक्सलाई समेत शिक्षण–सिकाइ प्रक्रियासँग जोड्ने योजना अघि बढाएको छ। यसअघि नै एआई तथा रोबोटिक्ससम्बन्धी पुस्तक र अध्ययन सामग्रीको व्यवस्था गर्दै आएको विद्यालयले विद्यार्थीलाई प्रविधिसँग जोडेर सिक्ने वातावरण निर्माण गर्दै आएको जनाएको छ।

आगामी दिनमा एआई, रोबोटिक्स तथा अन्य आधुनिक प्रविधिलाई शिक्षण–सिकाइमा थप एकीकृत गर्दै शिक्षक र विद्यार्थी दुवैलाई नयाँ प्रविधिसँग अभ्यस्त बनाउने विद्यालयको योजना छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×