विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले ७१ औँ प्रहरी दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी उत्कृष्ट प्रहरी कर्मचारी, सहयोगी व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको छ । ‘विपद्मा सारथि, संकटमा सहारा: प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ शुक्रबार प्रहरी दिवस मनाइएको हो ।
विराटनगरमा आयोजित कार्यक्रममा बहादुरी, जोखिमपूर्ण कार्यमा सफलता तथा अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली र सुनसरीमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक धर्मेन्द्र कार्कीलाई साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरिएको छ।
त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रमिला कार्कीलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ।
विप्लव थापा स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कारबाट ट्राफिक दुर्घटना न्यूनीकरण, व्यवस्थापन तथा अनुसन्धानमा उत्कृष्ट कार्य गरेको भन्दै इटहरीमा कार्यरत प्रहरी सहायक हवल्दार युवराज खड्का सम्मानित भएका छन् । उनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
यसैगरी, देवकुमारी शिवप्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारबाट विराटनगरमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक भुवनसिंह बोगटी, प्रहरी सहायक हवल्दार विक्रम दाहाल, झापामा कार्यरत सहायक निरीक्षक सजना प्रसाईं तथा सुनसरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मेनुकादेवी राय यादवलाई जनही ३५ हजार पाँच सय रुपैयाँसहित सम्मान गरिएको छ।
कार्यक्रममा प्रहरी कार्यमा सहयोग पुर्याउने व्यक्ति तथा संघसंस्थालाई समेत सम्मान गरिएको थियो । साथै, सरकारी तथा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक हासिल गर्ने बहालवाला, पूर्व तथा अमर प्रहरीका जेहेन्दार सन्ततिलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी शेखर खनालको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले सोहीअनुसार नागरिकलाई अनुभूति हुने गरी सेवा प्रवाह गर्न निर्देशन दिए । उनले प्रहरीलाई आवश्यक साधन स्रोतले सम्पन्न बनाउन तीनै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कोशी प्रदेशका विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो।