
काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट दुई दिनमा १ हजार ४०६ जना सर्वसाधारणले यातायात सुविधा लिएका छन्। प्रहरीद्वारा सार्वजनिक विवरणअनुसार कात्तिक ३ र ४ गते गरी ६६९ पुरुष र ७३७ महिलाले उक्त सेवा उपयोग गरेका हुन्।
विवरणअनुसार कात्तिक ३ गते तीनवटा बसमार्फत एक सिफ्टमा सेवा सञ्चालन गरिएको थियो। सो दिन २३६ पुरुष र २७४ महिला गरी ५१० जना यात्रुले निःशुल्क बस सेवा लिएका थिए।
त्यस्तै, कात्तिक ४ गते यात्रुको संख्या बढेर ८९६ पुगेको थियो। उक्त दिन ४३३ पुरुष र ४६३ महिलाले सेवा लिएको प्रहरीले जनाएको छ। दोस्रो दिन तीनवटा बसमार्फत दुई सिफ्टमा यातायात सुविधा उपलब्ध गराइएको थियो।
प्रहरीको तथ्यांकअनुसार पहिलो दिनको तुलनामा दोस्रो दिन निःशुल्क बस सेवा लिने यात्रुको संख्या ३८६ ले बढेको छ। दुवै दिनको कुल विवरणमा महिला यात्रुको संख्या पुरुषको भन्दा ६८ बढी देखिएको छ।
सर्वसाधारणको आवागमन सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको यस सेवाबाट यात्रुलाई यातायात खर्च बचत गर्नसमेत सहयोग पुगेको छ। विशेषगरी सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुका लागि निःशुल्क बस सेवाले सहजता प्रदान गरेको छ।



















