तलेजुको वाहन सेतो घोडा जात्रा सम्पन्न

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ५, बिहीबार १०:५५

भक्तपुर । भक्तपुरमा विजयादशमीको मध्यरातदेखि सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजु भवानीको वाहनका रूपमा मानिने सेतो घोडा जात्राको परम्परागत क्रम एकादशीको बिहानसम्म पुगेको छ। नवदुर्गा भवानीका देवगण र तलेजु भवानीसँग सम्बन्धित धार्मिक विधि पूरा गर्दै जात्रा सम्पन्न गरिएको हो।
विजयादशमीका दिन ब्रह्मायणी मन्दिरमा जात्रामा सहभागी भएका नवदुर्गाका देवगण राति नगरका विभिन्न टोल परिक्रमा गर्दै दरबार स्क्वायर पुगेका थिए। त्यहाँ ब्रह्मायणीलाई तलेजु भवानीको दर्शन गराउने र तान्त्रिक विधिअनुसार मन्त्रसिद्धि प्रदान गर्ने परम्परा छ।

जात्राका क्रममा तलेजु भवानीको प्रतीक मानिने पायःद्यो अर्थात् खड्गलाई तलेजुका मूल आचाजु तथा पुरोहितको विधिअनुसार राजोपाध्यायले काँधमा बोकेर मूलचोकबाट बेको चोकसम्म लैजाने चलन छ। त्यहाँ सर्वसाधारणले पूजा तथा दर्शन गर्न पाउँछन्।

तलेजुका पूर्वमूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार बडादसैँको मध्यरातमा तलेजु आगम घरको खँ कुथि कोठामा तान्त्रिक विधिबाट पूजा गरिएका बलिपात्र र शस्त्रास्त्रसहित पायःद्योको प्रक्रिया सुरु हुन्छ। त्यसपछि खड्ग हस्तान्तरण गरिएसँगै जात्राले औपचारिक रूप लिन्छ।

संस्कृतिविद् प्रकाश कायस्थका अनुसार पायःद्यो जात्रामा तलेजु भवानीको प्रतीकलाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याउने परम्परा छ। राति तलेजुलाई दरबार स्क्वायरस्थित स्वर्णद्वारमा ल्याएपछि प्रतीक्षारत नवदुर्गाका देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गरिन्छ। त्यसपछि नवदुर्गाका देवगणसहित जात्रा अघि बढाउने चलन रहेको छ।

चन्द्रमासको तिथि र परम्पराअनुसार यस वर्ष नगरको तल्लो क्षेत्रमा जात्रा सञ्चालन गरिएको थियो। खौमा, इताछे, टेखापुखु, वंशगोपाल र तौमढीलगायत स्थान परिक्रमा गर्दै नवदुर्गा र तलेजुबीचको धार्मिक परम्परा पूरा गरिएको थियो।

यसैबीच, विजयादशमीको राति तलेजु भवानीको कालरात्रि पूजा, टीका साइत पूजा तथा विसर्जन पूजा सम्पन्न भएपछि सेतो घोडा जात्रा सुरु गर्ने परम्परा छ। धार्मिक विधिअनुसार भेडाको बलि दिएपछि तलेजुको मूलचोकबाट सेतो घोडा बाहिर निकालेर नगर परिक्रमा गराउने चलन रहेको छ।

तर, आयोजकहरूबाट प्राप्त विवरणअनुसार विगत दुई वर्षदेखि सेतो घोडा जात्रा रोकिएको छ। यसबारे आयोजक पक्षले आधिकारिक कारण सार्वजनिक गरेको छैन।

भक्तपुरको खड्ग जात्रा र तलेजुसँग सम्बन्धित धार्मिक विधिहरू यहाँको ऐतिहासिक तथा सांस्कृतिक परम्पराका महत्वपूर्ण हिस्सा मानिन्छन्। यी जात्राले भक्तपुरको मौलिक धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई निरन्तरता दिँदै आएका छन्।

तपाइको प्रतिक्रिया
त्रियुगामा स्यालको आतंक : १५ पशुचौपाया घाइते, गाउँले त्रसित
ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
इरानमाथि नयाँ आक्रमणको तयारीमा अमेरिका, तेहरानले दियो कडा प्रतिकारको चेतावनी
देशभर सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३१३ जना घाइते
प्रदेश लेखा इकाइ प्रमुख पृथ्वीमान लिम्बुले गरे मेरापिक हिमालको आरोहण
अम्बे स्टिलमा आगलागी हुँदा १ करोडकाे
दशैंले धार्मिक सद्भाव र एकता बढाउँछ : बंगलादेशी राजदूत रहमान
तलेजुको वाहन सेतो घोडा जात्रा सम्पन्न
प्रहरीको निःशुल्क बस सेवाबाट दुई दिनमा १ हजार ४०६ जना लाभान्वित
वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×