
विराटनगर । छिटपुट आपराधिक तथा दुर्घटनाजन्य घटना भए पनि कोशी प्रदेशमा यस वर्षको दसैँ समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । दसैँको फूलपाती (असोज ३१ गते)देखि कोजाग्रत पूर्णिमा (कात्तिक ९ गते)सम्म १० दिनको अवधिमा प्रदेशका १४ जिल्लामा विभिन्न प्रकृतिका २२५ घटना भएका छन् । ती घटनामा ५७ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन् ।
चाडपर्वलाई लक्षित गरी व्यापक प्रहरी परिचालन, उच्च सुरक्षा निगरानी र विभिन्न सुरक्षा संयन्त्र सक्रिय बनाइएकाले ठूला तथा अप्रिय घटना हुन नपाएको प्रहरीको निष्कर्ष छ । दसैँमा भएका घटनामध्ये झुण्डिएर आत्महत्या, कुटपिट, विष सेवन, आगलागी र दुर्घटनाजन्य घटना बढी देखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी सुमन तिम्सिनाले बताए । उनका अनुसार विभिन्न घटनामा संलग्न ५९ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार दसैँको फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा झुण्डिएर आत्महत्या गरेका तथा त्यससँग सम्बन्धित ४४ घटनामा ४० जनाको मृत्यु भएको छ । कुटपिटका ३६ घटनामा ३१ जना घाइते भएका छन् भने संलग्न रहेको आरोपमा २८ जना पक्राउ परेका छन् । त्यस्तै, विष सेवनका २४ घटनामा तीन जनाको मृत्यु र ११ जना घाइते भएको जानकारी एसपी तिम्सिनाले दिए । उनका अनुसार आगलागीका २३ घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
धारिलो हतियार प्रहारका १४ घटनामा एक जनाको मृत्यु र ११ जना घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा नौ जना पक्राउ परेका छन् । डुबेर तथा बगाएर पाँच जनाको ज्यान गएको छ । सप्तकोशी नदीमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जनावरको आक्रमणबाट दुई जना र करेन्ट लागेर एक जनाको मृत्यु भएको जानकारी एसपी तिम्सिनाले दिए ।
उनका अनुसार दसैँको यस अवधिमा झैझगडाका पाँच घटनामा पाँच जना घाइते भएका छन् भने तीन जना पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउका १० घटनामा ११ जना पक्राउ परेका छन् । चोरीका आठ घटनामा आठ जना पक्राउ परेका छन् भने हातहतियार बरामदका चार घटना भएका छन् । अन्य प्रकृतिका ४८ घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएको तिम्सिनाले बताए ।
दसैँलाई सुरक्षित बनाउन कोशी प्रदेश प्रहरीले चाडपर्व सुरक्षा कार्ययोजना, २०८३ कार्यान्वयनमा ल्याउँदै प्रदेशका १४ वटै जिल्लामा आठ हजार १३३ जनाभन्दा बढी प्रहरी परिचालन गरेको थियो । चोरी, लुटपाट, ठगी, झैझगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले नियमित सुरक्षासँगै विशेष निगरानी र आकस्मिक प्रतिकार्यलाई प्राथमिकता दिएको थियो ।
यात्रुको आवागमन सहज बनाउन ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको थियो । त्यस्तै, ट्राफिकसहित संयुक्त चेकजाँच, राजमार्गमा स्कर्टिङ, ९८ मोबाइल गस्ती तथा पैदल गस्ती परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार धार्मिक तथा पर्यटकीय स्थलमा दर्शनार्थीको चाप व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो । सरकारी कार्यालय तथा महत्त्वपूर्ण प्रतिष्ठानका साथै बैंक, वित्तीय संस्था र आर्थिक कारोबार हुने स्थानमा पनि निगरानी बढाइएको एसपी तिम्सिना बताउँछन् । उनका अनुसार भिडभाड भएका स्थानमा सिसी क्यामेराबाट निगरानी गर्नुका साथै आवश्यकताअनुसार ड्रोन क्यामेरासमेत परिचालन गरिएको थियो ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले छिटपुट घटना भए पनि समग्रमा दसैँ शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । उनका अनुसार चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी जनशक्ति र सुरक्षा संयन्त्र परिचालन गरिएको थियो । आगामी तिहार, छठलगायतका चाडपर्वलाई पनि सुरक्षित, व्यवस्थित र हर्षोल्लासपूर्ण बनाउन प्रहरी केन्द्रित रहेको जानकारी खनालले दिए ।
उनका अनुसार चाडपर्वमा प्रहरीको सक्रियतासँगै नागरिकको सतर्कता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । घर छाडेर यात्रा गर्दा सुरक्षाको प्रबन्ध मिलाउने, सार्वजनिक यातायातमा सामानको सुरक्षा गर्ने, आर्थिक कारोबारमा सावधानी अपनाउने तथा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउने अभ्यासले सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने प्रहरीले जनाएको छ ।
दसैँमा परिचालित जनशक्ति र सुरक्षा संयन्त्रको प्रभावकारितालाई निरन्तरता दिँदै आगामी चाडपर्वमा पनि चोरी, ठगी, झैझगडा तथा दुर्घटना न्यूनीकरण गर्ने र नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्ने प्रहरीको लक्ष्य छ । विगतको तुलनामा यसवर्ष दसैँ शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रहरीले जनाएको छ ।

























