
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ३१.५४ अंकले बढेर २ हजार ६९५ अंकमा पुगेको छ। यो साउन १२ गतेयताकै उच्च बिन्दु हो।
बजारमा परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ। बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ। यो कारोबार रकम वैशाख ३ गतेयताकै उच्च हो । उक्त दिन ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो।
बिहीबार कारोबार भएका कम्पनीमध्ये १८१ वटाको सेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।
यस दिन सबै समूहगत सूचक हरियो भएका छन् । बैंकिङ समूह २.२८ प्रतिशत, विकास बैंक १.५५ प्रतिशत, फाइनान्स १.६९ प्रतिशत, होटेल तथा पर्यटन २.०५ प्रतिशत र जलविद्युत् समूह ०.३६ प्रतिशतले बढेका छन्।
त्यस्तै, लगानी समूह ०.२४ प्रतिशत, जीवन बिमा ०.६८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५१ प्रतिशत, लघुवित्त ०.५४ प्रतिशत, निर्जीवन बिमा ०.१३ प्रतिशत, अन्य समूह २.४५ प्रतिशत र व्यापार समूह ०.०३ प्रतिशतले उकालो लागेका छन् ।
बिहीबार बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। सोपान फर्मास्युटिकल्सको ८.७२ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत, एनआईसी एसिया बैंकको ४.६९ प्रतिशत र कालिन्चोक हाइड्रोपावरको ४.४१ प्रतिशतले मूल्य बढेको छ।
यसको विपरीत एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ३.६५ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ३.१४ प्रतिशत र राष्ट्रिय बिमा कम्पनीको २.७२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स र सोलु हाइड्रोपावर अगाडि रहेका छन्।
नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि हुनुले बिहीबारको बजारमा खरिदकर्ताको सक्रियता बढेको देखाएको छ।



















