
काठमाडौं । मोइन अलीको अविजित अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले काठमाण्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।
काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा मोइन अली र सैफ हसन निर्णायक बने । दुवैले तेस्रो विकेटका लागि अविजित ७९ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए ।
मोइनले ५१ बलमा ५८ रन बनाए । उनको इनिङ्समा ३ चौका र ३ छक्का समावेश थियो । सैफले ३९ बलमा ४० रन जोड्दै उनलाई राम्रो साथ दिए ।
लक्ष्य पछ्याउने क्रममा जनकपुरले ७ रनमै तृतराज दास र ३७ रन पुग्दा मयन यादवको विकेट गुमाएको थियो । तृत ५ र मयन ९ रनमा आउट भए पनि त्यसपछि मोइन र सैफले थप विकेट खस्न दिएनन् । काठमाण्डुका रिपोन मोन्डलले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ३ बलमा ११५ रनमै समेटिएको थियो । जनकपुरका राहुल यादवले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिएपछि काठमाण्डुको ब्याटिङ धराशायी बनेको थियो । उनले ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा मोहम्मद आदिल आलमलाई आउट गरे ।
सैफ हसनले २ विकेट लिए भने मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एक–एक विकेट हात पारे ।
काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरे । रसिद खानले १७, स्मित पटेलले १३ तथा सुमित महर्जनले १० रन जोडे । हरिशंकर शाह ९, करण केसी ८, जहानदाद खान ५ र शाहव आलम ४ रनमा सीमित भए । रिपोन मोन्डलले ९ रन बनाए । साम हिजलेट १ र मोहम्मद आदिल आलम शून्यमा आउट भए ।
काठमाण्डुले सुरुदेखि नै नियमित विकेट गुमाउँदा ठूलो साझेदारी गर्न सकेन । ६ रन हुँदा साम र १९ रन पुग्दा हरिशंकर आउट भएपछि दबाबमा परेको टोलीले त्यसबाट उकासिने अवसर पाएन ।
पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा जितको खाता खोलेको हो । एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

























