
झापा । झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या समाधान गर्न भूमि समस्या समाधान समितिले कामलाई तीव्रता दिएको छ । समितिले पछिल्लो डेढ महिनामा ३३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ भने दमक क्षेत्रका २३२ परिवारको दोहोरो स्रेस्ता संशोधन प्रक्रिया अघि बढाएको छ ।
समितिले दोहोरो स्रेस्ता संशोधनका लागि बिहीबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित जग्गाधनीलाई सम्पर्कमा आउन आह्वान गरेको हो । विगतका भूमि आयोगबाट जग्गाधनी पुर्जा प्राप्त गरे पनि साबिकको सरकारी स्रेस्ता बदर नहुँदा दोहोरो अभिलेख कायम भई अपुरो पुर्जा पाएका जग्गाधनीको समस्या समाधान गर्न प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।
समितिका अनुसार सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउने जग्गाधनीको विवरण आवश्यक छानबिन गरी प्रचलित कानुनअनुसार स्रेस्ता संशोधन गरिनेछ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आफ्नो नेतृत्वको समितिले भूमिसम्बन्धी समस्या समाधानका लागि कार्ययोजना बनाएर काम अघि बढाएको बताए । कानुनअनुसार समाधान गर्न मिल्ने समस्यालाई प्राथमिकताका आधारमा टुङ्ग्याउने गरी काम भइरहेको उनको भनाइ छ ।
‘सबै समस्या एकैपटक समाधान गर्न सम्भव नहुने भएकाले प्राथमिकता निर्धारण गरेर काम गरिरहेका छौँ । सम्बन्धित लाभग्राहीलाई केही समय धैर्य गर्न अनुरोध गर्दछौँ,’ पोखरेलले भने ।
समितिका अनुसार पछिल्लो डेढ महिनामा बुद्धशान्ति गाउँपालिकाका २६ परिवार र अर्जुनधारा नगरपालिकाका सात परिवारले जग्गाधनी पुर्जा पाएका छन् । जिल्लाका अन्य पालिकामा रहेका जग्गासम्बन्धी समस्या समाधानका लागि समेत आवश्यक गृहकार्य भइरहेको पोखरेलले बताए ।
यसअघि झापाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको काम सुस्त भएको भन्दै असन्तुष्टि जनाएका थिए । लामो समयदेखि जग्गा प्राप्तिको प्रतीक्षामा रहेका नागरिकको समस्या समाधान गर्न समितिमाथि दबाब बढिरहेका बेला पुर्जा वितरण तथा स्रेस्ता संशोधनको काम अघि बढाइएको हो ।
झापामा जग्गा प्राप्तिका लागि ६० हजार २०० भन्दा बढीले आवेदन दिएका छन् । ठूलो सङ्ख्यामा आवेदन परेकाले छानबिन, अभिलेख व्यवस्थापन र कानुनी प्रक्रिया पूरा गरेर समस्या समाधान गर्नु चुनौतीपूर्ण रहेको प्रजिअ पोखरेलले बताए । समितिले कानुनबमोजिम समाधान गर्न सकिने समस्यालाई प्राथमिकतामा राखेर जग्गाधनी पुर्जा वितरण तथा स्रेस्ता संशोधनको कामलाई निरन्तरता दिने जनाएको छ ।

























