
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित २० पदाधिकारीको वरीयता निर्धारण गरिएको छ। पार्टी सभापति गगन थापा पहिलो वरीयतामा रहँदा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो र महिला उपसभापति पुष्पा भुसाल तेस्रो वरीयतामा परेका छन् ।
बिहीबार महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहणपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारीहरूको वरीयता तय गरेको हो ।
निर्धारित वरीयताअनुसार खुलातर्फबाट उपसभापतिमा निर्वाचित डा. चन्द्रकान्त भण्डारी चौथो र मधु आचार्य पाँचौँ स्थानमा छन् । समावेशीतर्फबाट उपसभापतिमा निर्वाचित विनोद चौधरी छैटौँ वरीयतामा छन् ।
त्यस्तै, महामन्त्रीतर्फ प्रदीप पौडेल सातौँ, डा. डिला संग्रौला पन्त आठौँ र उदय शमशेर राणा नवौँ वरीयतामा छन् । पौडेल र राणा खुलातर्फबाट तथा डा. संग्रौला महिलातर्फबाट महामन्त्री निर्वाचित भएका हुन् ।
११ सहमहामन्त्रीमध्ये बहादुर सिंह लामा १० औँ वरीयतामा छन् । जनजातितर्फबाट सहमहामन्त्री निर्वाचित लामा पदाधिकारीको समग्र वरीयतामा महामन्त्रीहरूपछिको स्थानमा परेका हुन् ।
निर्धारित वरीयताअनुसार सहमहामन्त्री योगेन्द्र चौधरी ११ औँ, प्रकाश स्नेही रसाइली १२ औँ, जीवन शाही १३ औँ, अजय चौरासिया १४ औँ, आलेंगु शेर्पा १५ औँ, रामहरि खतिवडा १६ औँ, प्रतिमा गौतम १७ औँ, अजयबाबु सिवाकोटी १८ औँ, मनोज आचार्य १९ औँ र डा. फिरदोश आलम २० औँ वरीयतामा रहेका छन् ।
यससँगै कांग्रेसको नयाँ नेतृत्वमा सभापतिदेखि सहमहामन्त्रीसम्मका २० पदाधिकारीको वरीयता टुंगिएको छ।



















