
काठमाडौं । बीपी राजमार्ग आसपासका होटेल तथा रेस्टुरेन्टमा अनुगमन तीव्र पारिएसँगै खानाको गुणस्तर र सरसफाइमा सुधार हुन थालेको छ । चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न सम्बन्धित निकायले अनुगमन कडा बनाएका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालयलगायत निकायले होटेलको भान्छाको सरसफाइ, खाद्य पदार्थको गुणस्तर, भण्डारण विधि, मूल्य सूची र सेवाको अवस्थाबारे नियमित निरीक्षण गरिरहेका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख दिनेश सुवेदीका अनुसार मापदण्ड पालना नगर्ने होटेलमाथि कारबाही गरिने छ।
उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुलीका प्रमुख विष्णुकुमार भट्टराईका अनुसार बीपी राजमार्गअन्तर्गत चियाबारी, खनियाखर्क, खुर्कोट र मुलकोटका होटेलमा निरन्तर अनुगमन भइरहेको छ। अनुगमनका क्रममा कैफियत भेटिएका होटेल सञ्चालकलाई नगद जरिवानासमेत गरिएको छ।
पछिल्लो समय राजमार्गका होटेलमा गुणस्तरीय खाना नपाइने गुनासो बढ्दा व्यवसायमा समेत असर परेको व्यवसायीको भनाइ छ। नियमित अनुगमनले होटेल सञ्चालकलाई सरसफाइ, खाद्य स्वच्छता र सेवा सुधार गर्न जिम्मेवार बनाउनुका साथै यात्रुको स्वास्थ्य सुरक्षा र उपभोक्ताको हित संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

























