इनर्जी ड्रिंक्स नपिउन सरकारको आग्रह

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार १०:५०

काठमाडौं । सरकारले बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेका महिला, मधुमेहका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ऊर्जा पेयको सुरक्षित उपभोगबारे जानकारी दिँदै यस्तो सुझाव दिएको हो ।

विभागका अनुसार इनर्जी ड्रिंक्समा क्याफिन, टाउरिन, ग्लुकुरोनोल्याक्टोन, बी–भिटामिन र चिनी लगायतका पदार्थ हुन्छन्। स्वस्थ वयस्कले चिया, कफी, चकलेट र इनर्जी ड्रिंक्ससहित सबै स्रोतबाट दैनिक कुल ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्न सक्ने अन्तर्राष्ट्रिय सिफारिसलाई विभागले उद्धृत गरेको छ ।

नेपालमा हाल १७ वटा उद्योगले अनुमति लिएर इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्री वितरण गरिरहेका छन्। उत्पादनको लेबल र प्रयोगशाला विश्लेषणअनुसार प्रतिक्यानमा १०० मिलिग्राम क्याफिन रहेको विभागले जनाएको छ ।

विभागले सेवन गर्न मिल्ने व्यक्तिलाई समेत दैनिक ३३० मिलिलिटरका दुई क्यान अर्थात् ६६० मिलिलिटरभन्दा बढी इनर्जी ड्रिंक्स नपिउन आग्रह गरेको छ । यस्ता पेयलाई पानी, दूध, जुस र मोहीजस्ता पौष्टिक पेयको विकल्पका रूपमा प्रयोग नगर्न तथा अन्य पेयमा मिसाएर सेवन नगर्न पनि सुझाव दिएको छ।

त्यस्तै, उत्पादक तथा वितरकलाई विज्ञापन र बिक्री वितरण गर्दा प्रचलित कानुन पालना गर्न निर्देशन दिँदै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्नेलाई कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×