तिहारको उज्यालो बनाउने हातलाई आफ्नै भविष्यको चिन्ता

Share this
757shares
मुलुकी खबर
रवीन्द्र बराल
clock२०८३ कात्तिक १६, सोमबार ०७:१०

रंगेली । तिहारमा हरेक घरको आँगन र देहलीमा माटाका दियो बल्छन् । लक्ष्मीपूजाको रात झिलिमिली बत्ती र दियोले घर उज्यालो बनाउँछन् । तर ती दियो बनाउने हातहरूको आफ्नै जीवनमा भने अभावको अँध्यारो हट्न सकेको छैन । पुस्तौँदेखि माटोसँग खेल्दै अरूको घरमा उज्यालो पुर्‍याउँदै आएका कुमाले समुदाय यतिबेला आफ्नो पेसा र भविष्य जोगाउने संघर्षमा छन् ।

तिहार र छठ पर्व नजिकिएसँगै मोरङको रंगेली नगरपालिका–५ आमगाछीका कुमाले परिवारलाई माटाका सामग्री बनाउने चटारो छ । घरका बालबालिकादेखि वृद्धवृद्धासम्म सबैजना उत्पादनमा जुटेका छन् । कसैले माटो मुछिरहेका छन्, कसैले दियो र घैलालाई आकार दिइरहेका छन् त कसैले घाममा सुकाइएका सामग्रीलाई आगोमा पकाउने तयारी गरिरहेका छन् ।

रंगेलीको आमगाछी र सुनवर्षी नगरपालिका–९ कदमगाछीमा बसोबास गर्ने पण्डित समुदायका करिब ५० देखि ६० परिवारको मुख्य पेसा नै माटोका भाँडा बनाउनु हो । उनीहरूका लागि तिहार र छठ पर्व आम्दानीको महत्वपूर्ण अवसर पनि हो । वर्षभरि जेनतेन चल्ने व्यवसायमा यही समयमा केही बढी कारोबार हुने आशा उनीहरूले राखेका हुन्छन् ।

तर, पर्वको चहलपहलसँगै उनीहरूको मनमा उत्साहभन्दा बढी चिन्ता देखिन थालेको छ । बजारमा विद्युतीय बत्ती र प्लास्टिकका सामग्रीको प्रयोग बढ्दै जाँदा माटोका उत्पादनको माग खुम्चिँदै गएको छ । मिहिनेत र लागत बढे पनि त्यसअनुसारको मूल्य नपाउँदा पुर्ख्यौली पेसा धान्नै कठिन हुन थालेको स्थानीय वीरेन पण्डित बताउँछन् ।

उनका अनुसार २० वर्षअघिसम्म माटोका भाँडा बनाएर परिवारको खर्च सहजै धान्न सकिन्थ्यो । अहिले भने बजारको अवस्था फेरिएको छ । उपभोक्ताको रोजाइ बदलिएको छ । माटोका सामग्री किन्नेको संख्या घट्दै गएको छ । पेसा छाडेर अर्को काम गर्न सक्ने अवस्था नभएकाले पुरानै कामलाई निरन्तरता दिइरहेको उनको भनाइ छ ।

स्थानीय सुरेन पण्डितको अनुभव पनि उस्तै छ । १५ वर्षअघिसम्म माटाका सामग्री बिक्री गरेर राम्रो आम्दानी हुने गरेको उनी सम्झन्छन् । अहिले भने परिवारको सामान्य खर्च चलाउनसमेत मुस्किल हुन थालेको छ । पुर्खाले सिकाएको सिप भएकाले काम छाड्न मन नलागे पनि मिहिनेतअनुसारको प्रतिफल नपाउँदा निराशा बढेको उनी बताउँछन् ।

कुमालेहरूको उत्पादन प्रक्रिया पनि कम चुनौतीपूर्ण छैन । उनीहरूले चिम्टाइलो माटोबाट दियो, घैला, कोसिया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढकना र दलियालगायतका सामग्री बनाउँछन् । माटोको व्यवस्थापनदेखि सामग्रीलाई आकार दिने, सुकाउने र पकाउनेसम्म लामो प्रक्रिया पार गर्नुपर्छ ।

पहिले माटो मुछेर आवश्यक आकार दिइन्छ । त्यसपछि दिनभरि घाममा सुकाउनुपर्छ । सुकिसकेपछि दाउरा र परालको सहायताले २४ देखि ७२ घण्टासम्म आगोमा पकाएपछि मात्रै सामग्री बिक्रीका लागि तयार हुन्छन् । स्थानीय वीरेन्द्र पण्डितका अनुसार यो काममा समय, श्रम र खर्च तीनै कुरा उत्तिकै लाग्छन् ।

माटो, दाउरा र पराल खरिदमै ठूलो रकम खर्च हुने गरेको कुमालेहरू बताउँछन् । तयार भएका सामग्री रंगेली, कर्सिया, दोहमाना र डाइनियालगायतका बजारमा पुर्‍याएर बिक्री गरिन्छ । तिहारमा दियो र घैलाको माग बढी हुने भए पनि उत्पादनको लागतअनुसार मूल्य पाउन सकेका छैनन् । अहिले उनीहरूले दियो प्रतिसय ६० रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । तर, उपभोक्ताले स्थानीय उत्पादनलाई समेत सस्तोमा किन्न खोज्दा उचित मूल्य पाउन नसकेको उनीहरूको गुनासो छ ।

आर्थिक समस्यासँगै कुमाले समुदायलाई आफ्नो सिप र पेसा नै नयाँ पुस्तामा हस्तान्तरण नहुने चिन्ताले पनि सताउन थालेको छ । बालबालिका र युवाहरू माटोका भाँडा बनाउने काममा भविष्य देख्न छाडेका छन् । कम आम्दानी, बढी श्रम र बजारको अनिश्चितताका कारण उनीहरू वैकल्पिक पेसातर्फ आकर्षित हुन थालेका छन् । यसले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक सिप हराउने जोखिम बढाएको छ ।

स्थानीय तहबाट भएका केही प्रयासले भने आशा जगाएको छ । रंगेली नगरपालिकाले कुमाले समुदायको पेसालाई सहज र आधुनिक बनाउन विद्युतीय उपकरण उपलब्ध गराएको छ । तत्कालीन उपमेयर भुमा पराजुलीको पहलमा भक्तपुरबाट माटाका भाँडा बनाउने विद्युतीय उपकरण ल्याएर केही परिवारलाई वितरण गरिएको थियो । माटोको अभाव हुन नदिन नगरपालिकाले गाउँकै अन्य परिवारका लागि ६ कठ्ठा जग्गा खरिद गरेर उपलब्ध गराएको पराजुलीले बताएकी छन् ।

तर, रंगेलीमा केही सहयोग पुगे पनि छिमेकी सुनवर्षी नगरपालिका–९ कदमगाछीका कुमाले परिवार भने स्थानीय सरकारबाट आवश्यक सहयोग नपाएको गुनासो गर्छन् । एउटै पेसामा आश्रित समुदाय भए पनि पालिकाअनुसार संरक्षण र सहयोगको अवस्था फरक देखिएको छ ।

कुमाले समुदायको समस्या उत्पादनमा मात्रै सीमित छैन । उनीहरूलाई कच्चा पदार्थको सहज उपलब्धता, आधुनिक उपकरण, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता चाहिएको छ । स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने नीति र उपभोक्तामा माटाका सामग्री प्रयोग गर्ने चेतना बढाउन सके मात्रै यो पेसाले निरन्तरता पाउन सक्छ ।

तिहारमा माटाका दियो बाल्नु धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको विषय हो । तर, दियो बालेर मात्रै परम्परा जोगिँदैन, त्यसलाई बनाउने हातको संरक्षण पनि उत्तिकै आवश्यक रहेको सरोकारवाला बताउँछन् । तिहारमा लक्ष्मीको स्वागतका लागि घरघरमा दियो बालिरहँदा ती दियो बनाउने कुमाले परिवारको जीवनमा पनि उज्यालो पुर्‍याउने जिम्मेवारी समाज र स्थानीय सरकारको हो । समयमै संरक्षण र प्रवर्धनका ठोस कदम चालिएनन् भने कुनै दिन तिहारमा माटोका दियो खोज्दा पनि नपाइने अवस्था आउन सक्ने चिन्ता स्थानीयको छ ।

तपाइको प्रतिक्रिया
डा. केसीको अनशन र सरकारको जवाफदेहिता
विराटनगर जेसिजद्वारा दुई जना सम्मानित
पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै खापुङ, प्रदेश प्रमुखको भूमिकामा बने उदाहरण
संसद् नखुले सरकारका गतिविधिमाथि प्रश्न उठाउने ठाउँ साँघुरिने विपक्षीको ठहर
बिचौलिया प्रकरणमा कांग्रेसको आपत्ति
महाभियोगमा रास्वपा अलमल
झापामा स्वदेशी फूलको बजार जोगाउन प्रशासन सक्रिय, अवैध आयात र प्लास्टिकका फूलमा प्रतिबन्ध
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
न्यायपालिकाबारे उठेका प्रश्नमा निष्पक्ष छानबिन गर्न सर्वोच्चको आग्रह
पत्रकार धरपकडको विरोधमा कांग्रेस, संसद् अधिवेशन बोलाउन र विशेष समिति गठन गर्न माग
रुद्राक्षको आकर्षण : आस्था, विश्वास र प्रकृतिको अनुपम उपहार (फोटो फिचर)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.