झापामा स्वदेशी फूलको बजार जोगाउन प्रशासन सक्रिय, अवैध आयात र प्लास्टिकका फूलमा प्रतिबन्ध

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार १४:२२

झापा । तिहार र छठलाई लक्षित गर्दै झापा प्रशासनले भारतीय फूलको अवैध आयात नियन्त्रण गर्न कडाइ थालेको छ । स्थानीय किसानले उत्पादन गरेका फूलले बजार नपाउने अवस्था अन्त्य गर्न प्रशासनले सुरक्षा निकायलाई परिचालन गर्दै अवैध आयात रोक्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक सूचना जारी गर्दै गैरकानुनी रूपमा आयात गरिएका फूल नियन्त्रणमा लिन र प्रचलित कानुनले निषेध गरेका प्लास्टिकका कृत्रिम फूलको बिक्री–वितरण तथा भण्डारण नगर्न सचेत गराएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडपर्वका बेला भारतीय बजारबाट लुकिछिपी फूल भित्राउने प्रवृत्ति रोक्न प्रशासनले सक्रियता बढाएको बताए । उनका अनुसार जिल्लामै पर्याप्त फूल उत्पादन भइरहेकाले बाहिरबाट अवैध रूपमा फूल ल्याउनुपर्ने अवस्था छैन ।

‘हाम्रो जिल्लालाई पुग्ने फूल यहीँका व्यवसायीले उत्पादन गरिसक्नु भएको छ,’ पोखरेलले भने, ‘यसपालिको चाडबाडमा स्वदेशी सयपत्री र मखमली फूल प्रयोग गरेर स्थानीय किसानलाई प्रोत्साहन गर्न जिल्लावासीलाई आग्रह गर्दछु ।’

खुला सीमाका कारण विशेषगरी तिहार र छठमा भारतबाट ठूलो परिमाणमा फूल भित्रिने गरेको छ । यसले स्थानीय किसानको उत्पादन बिक्री नभई खेर जाने अवस्था सिर्जना गरेको भन्दै झापाका फूल उत्पादक किसानले आयात नियन्त्रणका लागि प्रशासनको ध्यानाकर्षण गराउँदै आएका थिए ।

यस वर्ष मेचीनगर, बिर्तामोड, दमक, शिवसताक्षी, कनकाई र बुद्धशान्तिलगायतका पालिकामा दर्जनौँ किसानले व्यावसायिक रूपमा सयपत्री फूल उत्पादन गरेका छन् । चाडपर्वमा हुने माग धान्न जिल्लाभित्रकै उत्पादन पर्याप्त हुने अनुमान गरिएको छ ।

मेचीनगर नगरपालिका–४ का फूल उत्पादक नीलकण्ठ तिवारीले प्रशासनको निर्णयले स्थानीय किसानको उत्पादनले बजार पाउने वातावरण बन्ने विश्वास व्यक्त गरे । अवैध आयात नियन्त्रण हुन सके किसानले आफ्नो लगानी र परिश्रमको उचित मूल्य पाउने उनको भनाइ छ ।

प्रशासनले कानुनले निषेध गरेका प्लास्टिकका फूल बिक्री गरेको, वितरण गरेको वा भण्डारण गरेको पाइएमा सम्बन्धित व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । यस कदमले चाडपर्वको बजारमा स्वदेशी प्राकृतिक फूलको प्रयोग बढ्ने र स्थानीय कृषि उद्यमलाई प्रोत्साहन पुग्ने प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
डा. केसीको अनशन र सरकारको जवाफदेहिता
विराटनगर जेसिजद्वारा दुई जना सम्मानित
पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै खापुङ, प्रदेश प्रमुखको भूमिकामा बने उदाहरण
संसद् नखुले सरकारका गतिविधिमाथि प्रश्न उठाउने ठाउँ साँघुरिने विपक्षीको ठहर
बिचौलिया प्रकरणमा कांग्रेसको आपत्ति
महाभियोगमा रास्वपा अलमल
झापामा स्वदेशी फूलको बजार जोगाउन प्रशासन सक्रिय, अवैध आयात र प्लास्टिकका फूलमा प्रतिबन्ध
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
न्यायपालिकाबारे उठेका प्रश्नमा निष्पक्ष छानबिन गर्न सर्वोच्चको आग्रह
पत्रकार धरपकडको विरोधमा कांग्रेस, संसद् अधिवेशन बोलाउन र विशेष समिति गठन गर्न माग
रुद्राक्षको आकर्षण : आस्था, विश्वास र प्रकृतिको अनुपम उपहार (फोटो फिचर)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.