
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नर्डिक मुलुकका नेताहरूबीच सैन्य सहयोग, हवाई प्रतिरक्षा तथा ऊर्जा पूर्वाधारको सुरक्षाबारे छलफल गर्न डेनमार्कमा बैठक भएको छ ।
अबु धाबीमा अमेरिकी मध्यस्थतामा रुस र युक्रेनबीच प्रत्यक्ष वार्ता सुरु भइरहेका बेला मंगलबार उक्त बैठक आयोजना गरिएको हो । डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले युक्रेनलाई चार अर्ब ८० करोड क्रोनर (करिब ७२ करोड अमेरिकी डलर) बराबरको सैन्य सहायता उपलब्ध गराउने योजना रहेको बताए । यसका अतिरिक्त युक्रेनको ऊर्जा क्षेत्रका लागि १५ करोड क्रोनर सहयोग प्रदान गरिने उनले जानकारी दिए ।
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले राष्ट्रपति जेलेन्स्की र नर्डिक नेताहरूलाई आफ्नो देशमा स्वागत गर्न पाउँदा गर्व लागेको बताइन् । स्वतन्त्र युक्रेन र स्वतन्त्र युरोपका लागि युक्रेनीहरूको संघर्ष जारी रहेको उनको भनाइ थियो ।
बैठकमा स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसन, नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोर र फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पो पनि सहभागी हुने कार्यक्रम थियो ।
नर्डिक मुलुकहरू युक्रेनका प्रमुख समर्थक राष्ट्र हुन् । गत अक्टोबरको अन्त्यमा जेलेन्स्की अमेरिकी प्रतिनिधिहरूसँग भेटवार्ता गर्न नर्वेको राजधानी ओस्लो पुगेका थिए । त्यसपछि नर्वेका प्रधानमन्त्री स्टोर र फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ९० मिनेट लामो टेलिफोन वार्ता गरेका थिए ।
डेनमार्ककी प्रधानमन्त्री फ्रेडरिकसेनले नर्डिक छिमेकीहरूसँग समन्वय नगरी यस्तो वार्ता गरिएको भन्दै त्यसको आलोचना गरेकी थिइन् । राष्ट्रपति स्टबले भने पुटिनसँगको कुराकानी स्पष्ट र अर्थपूर्ण रहेको बताएका थिए ।
प्रधानमन्त्री फ्रेडरिकसेनले रुसले पूर्णस्तरीय आक्रमण सुरु गरेको झन्डै पाँच वर्ष बितिसक्दा पनि सर्वसाधारण, राहत केन्द्र तथा खानेपानी र ताप आपूर्ति प्रणालीलाई लक्षित गरी आक्रमण जारी राखेको बताइन् । यस्तो अवस्थामा युक्रेनको पक्षमा दृढतापूर्वक उभिनुपर्ने उनको भनाइ थियो ।
यसैबीच, कोपनहेगन प्रहरीले आगामी दिनमा राजधानीको सुरक्षा व्यवस्था कडा पारिने जनाएको छ । प्रहरीले नोभेम्बर १२ सम्म राजधानी क्षेत्रमा ड्रोन उडाउन प्रतिबन्ध लगाएको छ ।

























