
एजेन्सी । कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार निर्माणमा विश्वव्यापी प्रतिस्पर्धा बढेसँगै चीनको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । यससँगै चालु वर्षको पहिलो १० महिनामै चीनको व्यापार बचत एक ट्रिलियन अमेरिकी डलर नाघेको छ ।
चिनियाँ भन्सार प्रशासनले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबरमा चीनको निर्यात गत वर्षको सोही महिनाको तुलनामा अमेरिकी डलरमा ३५.२ प्रतिशतले बढेको छ । सेप्टेम्बरमा निर्यात वृद्धि ३६.३ प्रतिशत थियो ।
अक्टोबरको निर्यात वृद्धि अर्थशास्त्रीहरूले गरेको ३३.५ प्रतिशतको अनुमानभन्दा बढी हो । उच्च प्रविधिका सामग्री तथा एआई पूर्वाधार निर्माणमा आवश्यक उत्पादनको विश्वव्यापी मागले चीनको निर्यातलाई गति दिएको हो ।
यससँगै जनवरीदेखि अक्टोबरसम्म चीनको व्यापार बचत एक दशमलव शून्य चार ट्रिलियन अमेरिकी डलर पुगेको छ । लगातार दोस्रो वर्ष चीनको व्यापार बचत एक ट्रिलियन डलर नाघेको हो । गत वर्षको तुलनामा यस वर्ष एक महिनाअघि नै यो आँकडा पार भएको छ ।
चीनको निर्यातमा भएको तीव्र वृद्धिले कमजोर आन्तरिक उपभोग र लामो समयदेखि जारी घरजग्गा क्षेत्रको मन्दीबाट प्रभावित अर्थतन्त्रलाई बाह्य मागमार्फत सहयोग पुगेको छ ।
तर निर्यातमा बढ्दो निर्भरताले चीनको आन्तरिक आर्थिक असन्तुलन थप गहिरिने र प्रमुख व्यापार साझेदारहरूसँग तनाव बढ्ने जोखिम पनि देखिएको छ ।
विशेषगरी युरोपेली सङ्घ (ईयू) सँग चीनको व्यापार तनाव थप चर्किन सक्ने देखिएको छ । ईयूका नेताहरूले चीनबाट हुने आयातमा थप नियन्त्रण लगाउनुपर्ने माग गर्दै आएका छन् ।

























