
काठमाडौं । इरानबाट ज्यान मार्ने धम्की आएको आकलनपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आफ्नो निजी निवास छाडेका छन् । सुरक्षा जोखिम बढेपछि उनी वासिङ्टन क्षेत्रस्थित घरबाट अमेरिकी सैन्य बेसमा सरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका महत्वपूर्ण सदस्य बेसेन्ट पछिल्लो समय इरानको अर्थतन्त्रमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियानको नेतृत्व गर्दै आएका छन्। उनले गत अगस्टदेखि ‘अपरेसन इकोनोमिक आउटकास्ट’ सञ्चालन गर्दै इरानको वित्तीय स्रोत सीमित पार्ने तथा आर्थिक गतिविधि कमजोर बनाउने रणनीति अघि बढाइरहेका छन्।
उक्त अभियानअन्तर्गत इरानसँग कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउने र व्यापारिक गतिविधिमा नियन्त्रण गर्ने काम भइरहेको छ। यही भूमिकाका कारण बेसेन्ट इरानको सम्भावित निशानामा परेको अमेरिकी अधिकारीहरूको आकलन छ।
अमेरिकी राष्ट्रिय गुप्तचर निकायका प्रमुख जे क्लेटनले गत महिना इरानले मध्यपूर्वसहित विभिन्न क्षेत्रमा रहेका अमेरिकी नागरिक तथा अधिकारीलाई लक्षित गर्ने प्रयास बढाएको चेतावनी दिएका थिए। अमेरिकी अधिकारीहरूले वर्तमान तथा पूर्वअधिकारीलाई लक्षित गर्ने इरानी योजनाबारे गम्भीर चासो व्यक्त गर्दै आएका छन्। यस्ता योजना थप उन्नत चरणमा पुगेको र त्यसमा बेसेन्टलाई लक्षित गर्ने सम्भावित गतिविधि पनि रहेको बताइएको छ।
यसअघि बेसेन्टको वासिङ्टनस्थित निजी निवासको हवाई तस्बिर सार्वजनिक भएपछि सुरक्षा जोखिम थप बढेको बताइएको थियो। उक्त तस्बिरका आधारमा उनको घरको वास्तविक स्थान पहिचान गर्न सकिने अवस्था बनेपछि उनलाई सैन्य बेसमा सारिएको हो।
यद्यपि, बेसेन्टमाथि रहेको धम्कीको वास्तविक गम्भीरताबारे अमेरिकी अधिकारीहरूले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। इरानको विदेशमा ठूलो स्तरको आक्रमण गर्ने क्षमता सीमित रहेको अमेरिकी अधिकारीहरूको आकलन छ। उता, इरानले अमेरिकी भूमिमा अधिकारी तथा नागरिकमाथि आक्रमण गर्ने योजना बनाएको आरोप अस्वीकार गर्दै आएको छ।
यस घटनापछि अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ताले बेसेन्ट इरानी सरकारको धम्कीबाट विचलित नहुने बताएका छन्। उनले इरानको अर्थतन्त्रमाथि दबाब बढाउने अभियान तथा इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
इरानसँग सम्बन्धित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना कूटनीतिक तथा सैन्य संरचनाको सुरक्षा व्यवस्था पनि कडा बनाउँदै आएको छ। गत महिना साउदी अरेबियास्थित अमेरिकी दूतावासका अत्यावश्यक सेवाबाहेकका कर्मचारी तथा उनीहरूका परिवारलाई सुरक्षा कारण देश छाड्न निर्देशन दिइएको थियो। त्यस्तै, इरानबाट सम्भावित खतरा देखिएपछि बेलायतस्थित अमेरिकी सैन्य बेसबाट केही विमान अन्यत्र सारिएको थियो।
यसैबीच, मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि कूटनीतिक प्रयाससमेत भइरहेका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार आर्थिक प्रतिबन्ध तथा अन्य दबाबका उपाय प्रभावकारी भइरहेकाले इरानमाथि पुनः ठूलो सैन्य कारबाही आवश्यक नपर्न सक्ने बताएका छन्।
इरानमाथि आर्थिक दबाब बढाउने अभियानको नेतृत्व गरिरहेका अमेरिकी अर्थमन्त्री नै सुरक्षा जोखिमका कारण निजी निवास छाडेर सैन्य बेसमा बस्नुपर्ने अवस्था आउनुले अमेरिका–इरान तनावको गम्भीरता थप उजागर गरेको छ। एजेन्सी

























