
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा भएको भनिएको आर्थिक अनियमितता तथा संगठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मा पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शर्मालाई बिहीबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो । सर्लाहीको रामनगर गाउँपालिका-३ स्थायी ठेगाना भएका ४५ वर्षीय शर्मा हाल ललितपुर महानगरपालिका-२५, भैंसेपाटीमा बस्दै आएका थिए ।
सीआईबीका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको डीडीसीका तत्कालीन महाप्रबन्धक तथा उच्च तहका कर्मचारीको संलग्नतामा गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई ठूलो आर्थिक क्षति पुर्याइएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
प्रारम्भिक अनुसन्धानमा तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीले पूर्वयोजनाअनुसार मिलेमतो गरी विभिन्न समूह र संगठित सञ्जालमार्फत संस्थानलाई आर्थिक नोक्सानी पुर्याएको देखिएको सीआईबीले जनाएको छ ।
उक्त प्रकरणमा संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक क्षति पुर्याई सोही रकम गैरकानुनी रूपमा लाभ लिएको प्रारम्भिक रूपमा पुष्टि भएको सीआईबीको भनाइ छ । शर्माविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघातसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ ।
सीआईबीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर शर्मालाई पक्राउ गरेको जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी दिए ।

























